इटहरी र विराटनगर भिड्ने

सुनसरी — इटहरी उपमहानगरको संयोजनमा जारी प्रदेशस्तरीय मेयर कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि इटहरी र विराटनगरबीच भिडन्त पक्का भएको छ । मंगलबार सेमिफाइनलमा इटहरी उपमहानगरले बेलबारी नगरपालिकालाई ३ विकेट र विराटनगरले बिर्तामोड नगरपालिकालाई १ सय २१ रनले पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका हुन् । बुधबार फाइनल हुने छ ।

इटहरी ९ स्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिड गरेको बेलबारीले निर्धारित १८ ओभरमा १६.२ ओभर खेल्दै ८१ रन खडा गरेको थियो । बेलबारीका अमित यादव र आशिष झाले २०–२० रनको योगदान दिए । अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सकेनन् ।

इटहरीका रवि शाहले ४ विकेट लिँदा उज्वल श्रेष्ठले ३ र जोसेफ खड्काले २ विकेट लिए । जवाफमा ८२ रनको लक्ष्य इटहरीले १५.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । इटहरीका अनिष लुइँटेलले १६ रन बनाउँदा सलमान आलमले १३ र म्यान अफ द म्याच रवि शाहले १२ रनको योगदान दिए ।
अर्को खेलमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८२ रनको विशाल योगफल खडा गरेको थियो । विराटनगरका दिपेश कँडेलले सर्वाधिक ५७ रन बनाए । पुष्प थापाले ३१, फिर्दोष अन्सारीले २९ र दीपक पासवानले २८ रन जोडे । बिर्तामोडका विनित बाँस्तोलाले २ विकेट लिए ।

जवाफमा १ सय ८३ रनको लक्ष्य पाएको बिर्तामोड १६.५ ओभरमा अलआउट हुँदै ६० रनमात्र बनाउन सक्यो । समिर कार्कीले २१ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । बिर्तामोडलाई सस्तैमा समेट्न पुष्प थापाले ३ विकेट, श्रवण यादव र म्यान अफ द म्याच दीपेश कँडेलले २ विकेट लिए ।
विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

स्रोत:कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *