प्रदेश २ र ५ विजयी

काठमाडौँ — प्रदेश २ र प्रदेश ५ टिम यू–१६ क्रिकेट लिगअन्तर्गत बिहीबार विजयी भएका छन्  । प्रदेश २ ले प्रदेश १ लाई र प्रदेश ५ ले प्रदेश ६ लाई समान ६ विकेटले हराए  ।

टस जितेको प्रदेश १ केवल १५.५ ओभरमा ७८ रनमा अलआउट भयो । विशाल पटेलले पहिलो ओभरमा नै ३ विकेट लिएपछि प्रदेश १ ले राम्रो योगफल खडा गर्न सकेन । उनले शकिब अन्सारी र अभिषेक बराललाई एलबीडब्लू तथा अंकित श्रेष्ठलाई शून्यमै बोल्ड गरे । विशालले तेस्रो ओभरमा पनि समिर कार्कीलाई १० रनमा आउट गरे ।

कप्तान दीपेश कँडेलले ३३ रन जोडेपछि प्रदेश १ ले सम्मानजनक योगफल खडा गर्‍यो । उनले ३६ बल सामना गर्दै ६ चौका प्रहार गरे । म्यान अफ द म्याच विशालले ४ ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । अरवाज अन्सारीले ३, निखिल सिंहले २ तथा सतीश यादवले १ विकेट लिए । प्रदेश २ ले १६ औं ओभरमा लक्ष्य पूरा गर्‍यो ।

कप्तान दीपेश कँडेलले सुरुआती ३ विकेट लिए पनि साहिलकुमार पटेल र परशुराम यादवले चौथो विकेटमा ५८ रनको साझेदारी गरेपछि प्रदेश २ ले सहज जित दर्ता गर्‍यो । दीपेशले इमरान शेखलाई ४, रोहनराज बिकलाई १ तथा मेघराज महरालाई शून्यमा पेभेलियन पठाए । साहिलले ३८ बलमा ३५ र परशुरामले ३३ बलमा २६ रन जोडे ।

दोस्रो खेलमा टस जितेको प्रदेश ६ ले २४.२ ओभरमा अलआउट हुनुअघि ७१ रन जोड्यो । ओपनर मोहन जीसी १, पारस खड्का ५ र सन्दीपजंग शाहीलाई शून्यमा गुमाएको प्रदेश ६ एकसमय २०–५ को स्थितिमा थियो । रमेश कुर्मीले ६ ओभरमा ३ मेडनसहित ७ रन खर्चेर ४ विकेट लिए ।

कप्तान विभान मगर १० रनमा आउट भए । दसौं विकेटमा युवराज खत्री र बेनित खत्रीले ३० रनको साझेदारी गरे । युवराजले ३३ बलमा २ चौकासहित १७ रन र बेनितले २८ बलमा १० रन बनाए । त्यसअघि विमलजंग मल्लले १३ रन जोडेका थिए । रमेशसँगै सुरज खड्का र प्रकाश गिरीले २–२ तथा अभिषेक गौतम र सिराज गैरेले १–१ विकेट लिए ।

प्रदेश ५ ले १३ औं ओभरमा लक्ष्य पूरा गर्‍यो । सुशान्त थापाले अविजित ३१ रन जोडे । उनले २९ बल सामना गर्दै ४ चौका प्रहार गरे । १६ रन जोडेका कप्तान विशालविक्रम केसीले उनलाई राम्रो साथ दिए । प्रदेश ६ का राजकुमार शाही, युवराज खत्री र युनिश सिंहले १–१ विकेट लिएका थिए ।

स्रोत:कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *