सीवाइसी अत्तरिया डीपीएल- ३ च्याम्पियन

सीवाइसी अत्तरियाले तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि जितेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा अत्तरियाले महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले हराउँदै उपाधि उचालेको हो ।

सीवाइसीले पहिलोपल्ट उपाधि उचालेको हो। महेन्द्रनगरले दिएको १२४ रनको लक्ष्य अत्तरियाले १९.५ ओभरमा ७ विकेट गुमाउँदै १२७ रन बनाएर पूरा गर्‍यो। अन्तिम २ बलमा ३ रन चाहिएको अवस्थामा सन्नी पटेलले दोस्रो अन्तिम बलमा अविनाश बोहोरालाई स्ट्रेट छक्का प्रहार गरेका थिए।

पटेल २६ बलमा ३ चौका र ३ छक्का प्रहार गरी ४७ रनमा अविजित रहे। अर्का अविजित ब्याट्सम्यान जितेन्द्रसिंह ठकुरीले ३ रन बनाए।

अत्तरियाबाट अन्य खेलाडीमा जयकिसन कोल्सावालाले ३० र कप्तान दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए।

बलिङतर्फ महेन्द्रनगरका महोम्मद नाभेद र अविनाश बोहोराले २/२ विकेट लिए।यसअघिटस जितेर ब्याटिङमा आएकोमहेन्द्रनगरका ओपनर दीलिप नाथले ४३ रन बनाए। ४१ बल खेलमा उनले ५ चौका र १ छक्का प्रहार गरे।

कुशल मल्ल २५, रोहित पौडेल २४, आरिफ शेख ११ र महोम्मद नाभेद १० रनमा आउट भए। महेन्द्रनगरका ५ खेलाडी रन आउट भएका थिए।

अत्तरियाका दीपेन्द्र रावतले २ ओभरमा ११ र दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा २४ रन खर्चेर २/२ विकेट लिए। सन्नी पटेलले ४ ओभरमा १ मेडन राख्दै ११ रन खर्चेर १ विकेट लिए।
अत्तरियाले उपाधि जितेसँगै नगद ३० लाख र महेन्द्रनगर उपविजेता रहँदै १२ लाख रुपैयाँ पुरस्कार पाएका छन्।

शरद भेषावकरको कप्तानीमा रहेको महेन्द्रनगर र दीपन्द्रसिंह ऐरीको कप्तानीमा रहेको अत्तरियाबीच फाइनलमा पहिलोपटक भिडिरहेकाथिए।

भेषावकरको कप्तानीमा रहेको टिमले यसैवर्ष मात्रै पोखरा प्रिमियर लिग जितेको थियो। राउन्ड रोबिनको खेलमा अत्तरियाले एक खेल मात्रै हारेको थियो। जुन महेन्द्रनगर युनाइटेडसँग थियो। वर्षाले मैदान हिलाम्य बनाएपछि ६/६ ओभर खेलाइएको उक्त खेलमा महेन्द्रनगरले ७ विकेटको जित हात पारेको थियो।

फाइनल जित्ने टोलीले ३० लाख र उपविजेताले १२ लाख रुपैयाँ नगद पाउनेछ। यसअघिका दुई संस्करणको उपाधि स्थानीय टोली टिम चौराह धनगढीले उचालेको थियो। 

स्रोत : कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *