थ्रीस्टारविरुद्ध आर्मीको जित

इटहरी — त्रिभुवन आर्मी क्लब दुहबीमा जारी तेस्रो मनमोहन दुहबी गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । दुहबी रंगशालामा बुधबार पहिलो सेमिफाइनलमा आर्मीले ए डिभिजन प्रतिद्वन्द्वी रुस्लान थ्रीस्टार क्लबलाई २–० ले हराएको थियो ।

उपाधि दाबेदार मानिएका दुवै टोलीले गोलका लागि दोस्रो हाफ कुर्नुपरेको थियो । दोस्रो हाफको पाँचौं मिनेटमा विवेक बस्नेतको पासमा भरत खवासले गोल गर्दै आर्मीलाई अग्रता दिलाए । त्यसपछि २१ औं मिनेटमा टेकबहादुर बुढाथोकीले वान टचमै गोल थप्दै आर्मीलाई २–० ले अघि बढाए ।

थ्रीस्टारका सुनील बलले मिलाइदिएका पास मनसा बेबोजीले सदुपयोग गर्न नसक्दा राम्रो अवसर चुक्यो । बल पोस्ट बाहिर गयो । पहिला हाफ गोलरहित बन्दा थ्रीस्टारका खेलाडीले केही राम्रा अवसर सदुपयोग गर्न सकेनन् ।

सुनील बलले हानेको फ्रिकिकलाई आर्मीका गोलरक्षक विकेश कुथुले सुन्दर बचाउ गरे । आर्मीका सन्तोष तामाङको फ्रिकिक प्रहार पनि विपक्षी गोलरक्षक एलन न्यौपानले बचाउ गरे । नवयुग श्रेष्ठको पासमा सेसेहाङ आङदेम्बेको पोस्ट प्रहार बाहिर गयो । टेकबहादुरको पासमा भरतको प्रहार बारमाथि जाँदा अवसर गुम्यो । आर्मीले बिहीबारको विजेतासँग उपाधिका लागि शनिबार भिड्ने छ । म्यान अफ द म्याच आर्मीका भरत खवास भए । उनले १० हजार रुपैयाँ पाए ।

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले विपक्षीलाई दबाब दिएर खेल्ने रणनीति सफल हुँदा जित सम्भव भएको बताए । ‘टिम लयमा छ । टिमवर्क र फिटनेस लेभल राम्रो छ,’ उनले भने, ‘टिममा पाँच राष्ट्रिय खेलाडी छन् । जुनियर र सिनियर खेलाडीलाई मिलाएर खेलेका थियौं । पाएका अवसर हामीले सदुपयोग गर्न सक्यौं ।’

गत वर्ष सात उपाधि जित्दै आर्मी वर्षको धेरै उपाधि जित्ने टिम बनेको बताउँदै न्यौपानेले भने, ‘अघिल्लो सालको साख जोगाउने प्रयासमा छौं । शारीरीक र मानसिक रुपमा दह्रो छौं ।’

थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले पाएको अवसर सदुपयोग गर्न नसक्दा फाईनलमा पुग्न नसकेको सुनाए । ‘थुप्रै अवसर पाएका थियौं तर स्कोर गर्न चुक्यौं । दुवै उत्कृष्ट टिम भएकाले अवसर सदुपयोग गर्न नसक्दा हार भोग्नुपर्‍यो । आर्मीको दाँजोमा हाम्रो गति कम भयो,’ उनले भने ।बिहीबार क्यामरुनी टोली दाउफिन्स र मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच प्रतिस्पर्धा हुनेछ । क्यामरुनीले माईभ्याली गोल्डकप, पोखरा कप, बुटवल गोल्डकप जितेको थियो ।

स्रोत:कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *