झापाको निरन्तर फाइनल यात्रा

आयोजक झापा ११ लगातार चौथोपल्ट मगमग झापा गोल्डकप फुटबलको फाइनल पुगेको छ । शुक्रबार पहिलो सेमिफाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी थ्रीस्टार क्लबलाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै घरेलु टोली उपाधि नजिक पुगेको हो । 

झापा गोल्डकपमा शुक्रबार बलसँग जुध्दै झापाका सन्जोग राई (सेतो) र थ्रीस्टार क्लबका रजिन धिमाल । तस्बिर : अर्जुन/कान्तिपुर

झापाका लागि टाइब्रेकरमा पुजन उपरकोटी, देवेन्द्र तामाङ र गोलकिपर दिनेश थापामगरले गोल गरेका थिए । झापाका कप्तान कर्ण लिम्बु र हेमन गुरुङको प्रहार थ्रीस्टारका गोलकिपर एलन न्यौपानेले रोकेका थिए । टाइब्रेकरमा थ्रीस्टारका रजिन धिमालको प्रहारमात्र गोलमा परिणत भएको थियो ।

Citizen

बुद्धराज चेम्जोङको पेनाल्टी प्रहार झापाका गोलकिपर दिनेशले बचाउ गरे भने रुपेश केसी र मिक्चेन तामाङको प्रहार बाहिरियो । निर्धारित ९० र थप १५ मिनेटमा पनि गोल नभएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । खेलको अधिकांश समय बल भने थ्रीस्टारले आफ्नो नियन्त्रणमा राखेको थियो ।

डोमालाल राजवंशी रंगशालामा थ्रीस्टारले १८ औं मिनेटमा अग्रता लिने अवसर गुमायो । सुशील राईको पासलाई अजयी मार्टिन्सको सशक्त प्रहार पोस्ट माथिबाट बाहिरियो । त्यसको एक मिनेट नबित्दै झापाले पनि अग्रता लिने अवसर गुमाएको थियो । थ्रीस्टारका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई झापाका विदेशी खेलाडी फ्रान्सिस ओएमीको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो ।

२९ औं मिनेटमा रजिन धिमालको फ्रिकिक प्रहार झापाका गोलकिपर दिनेशले नियन्त्रणमा लिन नसकेपछि थ्रीस्टारका सुशीलको हेड बल झापाका दिलेन लोक्तामले उत्कृष्ट बचाउ गरे । ४० औं मिनेटमा झापाका खेलाडीले थ्रीस्टारविरुद्ध काउन्टर प्रहार गर्न सकेनन् । ४३ औं मिनेटमा थ्रीस्टारका किपर एलन अघि बढेको अवस्थामा पाएको बलमा झापाका विदेशी खेलाडी काजिम बुखारीले पोस्टको दिशा दिन सकेनन् ।

बक्सभित्रबाट ५० औं मिनेटमा झापाका पुजनले गरेको फ्रहार सशक्त हुन सकेन । ५२ औं मिनेटमा थ्रीस्टारका सुशीलको त्रस झापाका गोलकिपर दिनेशले नियन्त्रणमा लिए । लगत्तै थ्रीस्टारका अनिल गुरुङको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । ७० औं मिनेटमा झापाका हेमन गुरुङको फ्रिकिक प्रहार गोलकिपर एलनले नियन्त्रणमा लिन सकेनन् । उक्त बललाई झापाका भिक्टोर एमोबीले प्रहार गर्न भ्याएनन् ।

थ्रीस्टार ७८ औं मिनेटमा अभागी साबित भयो । विजय धिमालको कडा प्रहार बारमा लागेर फर्किएको थियो । ८१ औं मिनेटमा कर्नर प्रहार झापाका काजिमको हेडिङ पोस्ट नजिकैबाट बाहिरिएको थियो । ९६ औं मिनेटमा झापाका हेमनको सशक्त प्रहार पोस्टको थोरै माथिबाट बाहिर गयो । झापाका गोलकिपर दिनेश थापामगर म्यान अफ द म्याच घोषित भए । उनले १५ हजार रुपैयाँ प्राप्त गरे ।

थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले आफूहरू झापासँग लगातार दोस्रो पटक सेमिफाइनलमा अभागी साबित भएको बताए । उनले निर्धारित समयमा पाएको केही राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा खेल टाइब्रेकरमा पुगेको सुनाए । उनले भने, ‘टाइब्रेकरमा पनि आफ्ना गोलकिपरले लगातार दुई प्रहार रोक्दा समेत पराजित हुनु दुर्भाग्य नै हो ।’

झापाका प्रशिक्षक प्रवेश कटुवालले आफ्नो रणनीतिअनुसार नतिजा निकाल्न सफल भएकोमा खुसी व्यक्त गरे । उनले खेल अवधिभर आफ्ना खेलाडीले खटेर खेलेपनि रणनीतिअनुसार पूर्ण रूपमा खेल्न नसकेको बताए ।

शनिबार सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी र क्यामरुनी क्लब दाउफिन्सबीच प्रतिस्पर्धा हुनेछ ।

स्रोत : कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *