बार्सिलोना उपाधितर्फ

बार्सिलोना — लुइस स्वारेज र लियोनल मेसीले दुई मिनेटभित्र दुई गोल गरेपछि बार्सिलोनाले दस खेलाडीमा समेटिएको एट्लेटिको म्याड्रिडको चुनौती पन्छाउँदै शनिबार ला लिगाको उपाधि होडमा ११ अंकको स्पष्ट अग्रता लिएको छ ।

रेफ्री गिल मान्जानोमाथि दुर्व्यवहार गरेकाले डिएगो कोस्टालाई २८ औं मिनेटमा रातो कार्ड दिइएको थियो । त्यसको अर्को एक घण्टासम्म पनि एट्लेटिको बचेकै थियो । स्वारेज र मेसीले अन्त्यतिर गोल गरेपछि बार्सिलोनाले २–० को महत्त्वपूर्ण जित हासिल गरेको हो ।

सात खेल बाँकी छँदा हात पारेको जितले बार्सिलोनालाई उपाधिनजिक पुर्‍याएको छ । उसले च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा बुधबार म्यानचेस्टर युनाइटेडको यात्रा गर्नुअघि आफ्नो लयलाई कायमै राख्यो ।

‘यो महत्त्वपूर्ण तीन अंक हो,’ बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भेर्डेले भने, ‘हामी उपाधि नजिक पुगेका छौं ।’ लुइस स्वारेजले भने, ‘यसले हामीलाई ठूलो अग्रता दिलायो । हामीले एउटा सफलता मात्र हात पारेनौं, दुई पाइला अगाडि पनि बढ्यौं ।’

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गन सोल्सायर आफ्ना सहायक माइक फेलानसँगै दर्शकदीर्घामा थिए । बार्सिलोनाका दुई प्रमुख खेलाडीको कथा उस्तै रह्यो, जुन सबभन्दा महत्त्वपूर्ण थियो ।

कोस्टाको चाँडै र अनावश्यक बाहिर्‍याइले एट्लेटिकोलाई हार टार्ने माध्यममात्र आवश्यक भइरहेको थियो । उसका प्रशिक्षक डिएगो सिमोनीले गत साता भनेजस्तै एट्लेटिकोलाई जितले मात्रै उपाधि होडको चुनौतीलाई जीवित राख्न सक्थ्यो । ‘मैले रेफ्रीलाई सोधेको थिएँ, उनले कोस्टाले केही भनेको बताए,’ सिमोनीले भने, ‘अरू खेलाडीले पनि भनेका थिए तर उनीहरूलाई बाहिर पठाइएन । त्यसले कोस्टाले जे गरेका थिए, त्यसलाई न्यायोचित साबित गर्दैन ।’

स्वारेजले लामो दूरीबाट ८५ औंमिनेटमा आकर्षक गोल गरेर बार्सिलोनालाई अग्र्रता दिलाए । मेसीले ८६ औं मिनेटमै गोल थपिदिए । यो सिजन यी दुईकोजोडीले लिगमा ५३ गोल गरेका छन् । मेसीका लागि यो ला लिगाको कीर्तिमान ३३५ औं जित हो ।

नसोचिएको दुर्घटना भयो भने मात्रै एट्लेटिको उपाधि होडमा फर्किन सक्छ । त्यो भन्दा बढी बार्सिलोनाले खेलाडीलाई आराम दिने सुविधा पाएको छ । उसले युरोपमा पनि सफलता हात पार्न केन्द्रित हुने मौका पाएको छ । गएको ‘समर’ मा बार्सिलोना नजाने निर्णय लिएका एन्टोइन ग्रिजमनको खेलपूर्व नाम लिंदा दर्शकहरूले सिट्ठी बजाएका थिए । उनी पूरा खेलमा अवसरका लागि संघर्ष गरिरहेका थिए ।

स्रोत:कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *