एट्लेटिकोबिरुद्ध बार्साको संघर्षपूर्ण जित

चैत्र २४, २०७५ ला–लीगा फुटबलको पछिल्लो खेलमा बार्सिलोना र रियल मड्रिड विजयी भएका छन् । बार्साले १० खेलाडिमा सीमित एट्लेटिको मड्रिडलाई २–० ले पराजित गर्दा पछि परेको स्थिति उल्ट्याउदै रियल मड्रिडले आईबरलाई २–१ ले पराजित गर्‍यो ।

जितपछि बार्साले दोस्रो स्थानको एट्लेटिको मड्रिडसँगको दुरी ११ अंकमा पुर्‍याएको छ । ३१ खेलको समाप्तिमा बार्साको ७३, एट्लेटिकोको ६२ र रियलको ६० अंक भएको छ । २८ औं मिनेटमा डिएगो कोष्टा रातो कार्ड खांदै मैदान बाहिरिएपछि एट्लेटिको मड्रिड १० खेलाडिमा सीमित भएको थियो । खेलमा ६४ प्रतिशत आफ्नो नियन्त्रण जमाएपनि बार्साले गोल भने ८५ औं मिनेटमा मात्र गर्न सकेको थियो ।

लुईस स्वारेजले गोल गर्दै अग्रता दिलाएको एक मिनेट पछि नै लियोनेल मेसीले गोल थपेपछि बार्सा २–० ले विजयी भयो । आफुलाई अपमान गरेको भन्दै रेफ्री जेसुस गील मान्जानोले कोष्टालाई सिधै रातो कार्ड देखाएका थिए । अर्को खेलमा पहिलो हाफमा १–० ले पछि परेको स्थिति उल्ट्याउदै रियल मड्रिडले आईबरलाई २–१ ले पराजित गर्‍यो ।

रियलको जितमा दुवै गोल करिब बेन्जिमाले दोस्रो हाफमा गरे । खेलमा अग्रता भने मार्क कार्डोनाको गोलबाट आईबरले ३९ औं मिनेटमा लिएको थियो । गएराती कै अन्य खेलमा इस्पानियोलले गिरोनालाई २–१ ले तथा रियल भालेकानोले भ्यालेन्सियालाई २–० ले पराजित गर्‍यो ।

स्रोत:रेडियो कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *