ओलम्पिक फुटबलको एसियाली छनोटमा नेपाल र म्यानमार भिड्दै

काठमाडौं चैत्र २०, २०७५ ओलम्पिक महिला फुटबल अन्तरर्गत दोस्रो चरणको एसियाली छनोट म्यानमारमा आज सुरु हुँदैछ । छनोटको उद्घाटन खेलमा आयोजक म्यानमार र नेपाल प्रतिस्पर्धा गर्नेछन् ।

खेल म्यानमारको घरेलु मैदानमा नेपाली समयानुसार साँझ सवा ५ बजे सुरु हुनेछ । बलियो टोली म्यानमारलाई कम्तीमा बराबरीमा रोक्ने लक्ष्यका साथ नेपाली टोली मैदान उत्रने प्रशिक्षक हरि खड्काले बताएका छन् । रक्षात्मक खेल खेल्दै घरेलु टोलीलाई रोक्ने नै आफूहरुको लक्ष्य भएको खड्काको भनाई छ । फिफा वरियतामा ४४ औं स्थानमा रहेको म्यानमार यो समूहको सबैभन्दा बलियो टोली हो ।

नेपाली महिला टोलीले अन्तर्राष्ट्रिय महिला फुटबलमा अहिलेसम्म म्यानमारलाई हराउन सकेको छैन् । नेपालले समूहचरणको दोस्रो खेलमा शुक्रबार भारत र समूहचरणको अन्तिम खेलमा मंगलबार ईण्डोनेसियाको सामना गर्नेछ । समूहको शीर्ष स्थानमा रहने टोलीले तेस्रो चरणको छनोटमा स्थान बनाउने छ । चार टोली सहभागी प्रतियोगीतामा नेपाली टोली सबैभन्दा कमजोर टोली हो । प्रतियोगितामा सहभागी भारत फिफा वरियताको ६३ र ईण्डोनेसिया ८६ औं स्थानमा रहेको छ ।

स्रोत:रेडियो कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *