पुलिस पोखरा कपको क्‌वाटरफाइनलमा

‘ए’ डिभिजन क्लब सीएमजी संकटालाई २–१ ले हराउँदै नेपाल पुलिस क्लब छैटौं मनकामना पोखरा कपको क्‌वाटरफाइनल प्रवेश गरेको छ ।

पोखरा रंगशालामा जारी प्रतियोगितामा शनिबार लिग उपविजेता संकटालाई हराउन पुलिसका अभिषेक रिजाल र रवि पाश्वानले एक/एक गोलको योगदान दिए । संकटाका म्याक्सवेल इलनले एक मात्र गोल गरे ।

इलोनले खेलको ११ औं मिनेटमा संकटाका लागि पहिलो गोल गरे । पुलिसका अभिषेक रिजालले ३२ औं मिनेटमा गोल गरेर बराबरी बनाए । खेलको ५४ औं मिनेटमा रवि पाश्वानले गोल गरेपछि पुलिसको जित निश्चित भयो । प्रतियोगितामा उनी म्यान अफ दी म्याच घोषित हुँदै पाँच हजार रुपैयाँ प्राप्त गरे ।

पुलिसका प्रशिक्षक अनन्त थापा मगरले संकटाले राम्रो खेल्दाखेल्दै पनि जित आफ्नो पक्षमा परेको प्रतिक्रिया दिए । उनले लगातारको प्रतियोगितामा सहभागी बन्नुपर्दाको धपेडीले उत्कृष्ट प्रदर्शन गर्न नसकेको स्वीकारे ।

संकटाका प्रशिक्षक सल्यान खड्गीले रक्षापंक्तिका केही खेलाडीको कमजोरीले खेल गुमाउनुपरेको बताए । लिगमा पुलिसलाई २–१ ले हराए पनि अन्य नकआउट प्रतियोगितामा भने संकटाले पुलिससँगको खेलमा पराजय ब्यहोरेको छ । कास्की जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा आइतबार थ्रीस्टार र एपीएफ क्लब भिड्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *