‘चारै उपाधि असम्भव’

pop over to this website लन्डन — म्यानचेस्टर सिटीका व्यवस्थापक पेप ग्वार्डिओलाले एकै सिजनमा सबै चार ट्रफी ‘लगभग असम्भव’ भएको बताएका छन् । इंग्लिस च्याम्पियन्स सिटीले शनिबार राति ब्राइटनलाई १–० ले पराजित गरी एफए कपको फाइनलमा पुगे पनि ग्वार्डिओलाले यस्तो धारणा राखेका हुन् ।

ग्याब्रियल जेससले गरेको गोल सिटीलाई फाइनलमा पुर्‍याउन पर्याप्त त रह्यो तर ब्राइटनसँग टोलीले आफ्नो क्षमताअनुसारको प्रदर्शन गर्न सकेन । सिटीले पछिल्ला २३ मध्ये २२ खेल जितेको छ । वेम्बलीमै हुने फाइनलमा सिटीको प्रतिस्पर्धा वाटफोर्ड अथवा वोल्भससँग मे १८ मा हुनेछ ।

इंग्लिस फुटबल इतिहासमा पहिलो पटक तीन घरेलु उपाधि जित्ने सम्भावना सिटीसँग रहेको छ । फेब्रुअरीमा लिगकप जितिसकेको सिटी इंग्लिस प्रिमियर लिगमा लिभरपुलभन्दा २ अंकले पछाडि छ । लिभरपुलको तुलनामा सिटीले एक खेल कम खेलेको छ । सिटीले मंगलबार अर्को इंग्लिस टोली टोटेनहमसँग च्याम्पियन्स लिगको क्वाटरफाइनल खेल्दै छ । ग्वार्डिओलाले सबै चार उपाधि जित्न ‘जादु’ नै हुनुपर्ने बताए ।

‘चार उपाधि एकै सिजनमा जित्न असम्भव भएको म घोषणा गर्दछु । अहिलेको स्थितिमा रहनु नै जादुमय हो,’ ग्वार्डिओलाले भने, ‘हामी अझै चार उपाधि जित्ने सम्भावनामा रहेका छौं । यो स्थितिमा ल्याउन खेलाडीले असाधारणक्षमता देखाएका छन् । धेरै खेल खेल्दा कुनै हार्न पनि सकिन्छ, त्यो सामान्य हो । हामी अन्तसम्म प्रत्येक खेल जित्नलाई प्रयास गरिरहन्छौं ।’

सिटीका रक्षक केयल वाल्करलाई रातो कार्ड नदिएकामा ब्राइटनको गुनासो थियो । आधा घण्टाको खेल सकिने क्रममा अलिरेजा जाहानबाख्सलाई वाल्करले टाउकाले प्रहार गरेका थिए । ‘मैले त्यो क्षण केही समय हेरें, त्यसमा वाल्करलाई रातो कार्ड दिनु पर्थ्यो भन्ने मेरो धारणा हो,’ ब्राइटनका व्यवस्थापक क्रिस हुटनले भने, ‘हामीले अलिरेजासहित खेलाडीलाई इमान्दार हुन भनेका थियौं । उनलाई टाउकोमा लागेपछि ढलेको भए कथा फरक हुन सक्थ्यो ।’

सिटी लन्डनमै रहनेछ र टोलीले मंगलबार टोटेनहमको नयाँ रंगशालामा स्पर्शसँग च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछ । टोलीका स्ट्राइकर सर्जियो अगुइरो भने शुक्रबार नै क्लब फर्किसकेका छन् । उनको चोट सामान्य भएको बताइएको छ ।

स्रोत:कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *