थ्रीस्टार सेमिफाइनलमा

सर्लाही — रुस्लान थ्रीस्टार क्लब सर्लाहीको वाग्मतीमा जारी तेस्रो राजर्षि जनक कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबारको खेलमा आयोजक वाग्मती युवा क्लब ‘नीलो’ लाई ४–० गोलले पराजित गर्दै सेमिफाइनलको स्थान सुरक्षित गरेको हो । 

दुई विदेशी खेलाडीसहित मैदानमा उत्रेको थ्रीस्टारले खेलको सुरुदेखि नै बलमाथि पकड जमाएको थियो भने आयोजक वाग्मतीले समर्थकको साथ पाए पनि थ्रीस्टारसँग निरीह बनेको थियो । खेलको ११ औं मिनेटमा आयोजक वाग्मतीको तर्फबाट याङ दोर्जेको पासमा अबि पहरीले हानेको बल बाहिर गएपछि राम्रो अवसर गुमाएको थियो । खेलको २२ औं मिनेटमा थ्रीस्टारका सुनील वलको क्रस पासमा सुशील राईले गोल गरे । वाग्मतीका गोलरक्षक मनीष मगरले गोल बचाउन प्रयास गरे पनि सकेनन् ।

दोस्रो हाफमा दुवै टोली रणनीति परिवर्तन गर्दै आक्रामक रूपमा प्रस्तुत भएका थिए । आयोजक वाग्मतीले दोस्रो हाफमा आक्रामक रूपमा प्रस्तुत भए पनि तालमेल गुमाएका कारण थप ३ गोलको सामना गर्नुपर्‍यो ।दोस्रो हाफको २१ औं मिनेटमा थ्रीस्टारका दिनेश राजवंशीले पहेंलो कार्ड खाए पनि थ्रीस्टारका खेलाडीले हौसला गुमाएन । समर्थकको साथ नपाए पनि थ्रीस्टारका खेलाडीले गोल माथि गोल थप्दै गए । दोस्रो हाफको २४ औं मिनेटमा थ्रीस्टारका अनिल गुरुङले टिमका लागि गोल गरे । २–० ले पछि परेको आयोजक वाग्मतीले हौसला गुमाउँदै गयो ।

त्यसको फाइदा उठाउँदै थ्रीस्टारका सुशील राईले थपिएको समयमा पुनः अर्को गोल गरे । खेल समाप्त हुने अन्तिम समयमा पनि थ्रीस्टारका खेलाडी म्यानसा बेभोगुलले बललाई जाली चुमाएर टिमलाई जित दिलाए । विजयी टोलीका प्रशिक्षक मेघराज केसीले खेलाडीले सामान्य मिहिनेतले नै सहज जित पाएको बताए । थ्रीस्टारको जितमा म्यान अफ द म्याच सुशील राईले २ गोल गरे । उनले १० हजार रुपैयाँ प्राप्त गरे । बिहीबार हुने चौथो खेलमा नेपाल एपीएफ क्लब र सुदूरपश्चिम–११ बीच प्रतिस्पर्धा हुनेछ ।

स्रोत:कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *