पारिवारिक हक्की

buy neurontin online without dr approval ‘हामी दुवैतिर फैलिएर खेल्छौं यस्तो बेला विपक्षी खेलाडी अनुहार हेर्दै अलमल पर्छन्, यसको मौका छोप्न हामी चुक्दैनौं’

बाँके — चार दाजुभाइ बिहानदेखि मैदानमा व्यस्त थिए । कसैले नेट झुन्ड्याउँदै थिए त कोही सेतो घेरा कोर्दै थिए । प्रदेश ५ मा बधुबारदेखि सुरु भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा नेपालगन्जका चार दाजुभाइमा विशेष उत्साह थियो । आफ्नै ठाउँमा खेल हुँदैछ । अर्को चार दाजुभाइ एक साथ खेलमैदानमा उत्रिंदै छन् । 

नेपालगन्ज–८ का मोहमद आरिफ शेख, मोहमद सलिम शेख, मोहमद वासिम शेख र मोहमद सलमान शेख एउटै परिवारका चार दाजुभाइ हुन् । यी चारभाइको समान रुचि–हक्की । माइलो सलिम शेखले झन्डै ८ वर्षअघि देखि हक्की खेल्न सुरु गरेका थिए । 

उनको खेलले राष्ट्रियस्तरमा प्रभाव जमाउँदै गएपछि दाइ आरिफको आकर्षणबढ्यो । सुरुमा कबड्डी र फुटबल खेल्दै आएको बताउने ४० वर्षीय आरिफले छैटौं राष्ट्रिय खेलकुदमा हक्की खेलबाट सहभागिता जनाए । ‘भाइले हक्कीमा राम्रो पहिचान बनायो,’ आरिफले भने, ‘यस्तो अवस्था आयो कि परिवारका सबै भाइ पनि यतै तानियौं ।’

साइँला ३४ वर्षीय वासिमचाहिँ शारीरिक सुगठन र कबड्डी खेलका राष्ट्रिय खेलाडी हुन् । साथै केही वर्षयता उनको रुचि पनि हक्की खेलप्रति बढ्दै गएको छ । उनका विचारमा हक्की खेलले शरीर फिट राख्न मद्दत गर्छ । परिवारमा दाजुभाइको हक्की मोहले पनि उनको रुचिमा बढावा ल्याएको बताउँछन् । ‘यसपटक शारीरिक सुगठन छाडेर हक्कीमा भाग लिएको छु,’ उनले भने ।
२१ वर्षे सलमान कान्छा हुन् । घरमा हुर्केदेखि हक्की खेल देख्दै आएका उनले दाजुभाइकै सिको गरेको बताए । कान्छो भएकाले दाजुहरूले खेलमा भोगेका तीतामीठा भोगाइ सुन्ने अवसर पाउँछन् । जसले गर्दा उनलाई सच्चिने मौका प्रशस्तै मिल्छ । ‘दाइहरूले खेलमा गरेका गल्ती मलाई सुनाउनु हुन्छ,’ उनले भने, ‘जुन कुरा सुनेर मैले खेल सुधार्न सकेको छु ।’

आरिफ गोल किपर र सलिम फरवार्ड पोजिसनमा दक्ष छन् भने वासिम र सलिम रक्षक । ११ जनाको टिममा यी चार दाजुभाइ मैदानभरि छरिन्छन् । परिवार र खेलमैदानमा उनीहरूको बेग्लाबेग्लै भावनात्मक सम्बन्ध छ । खेल्दा मैदानमा हुँदा उनीहरू दाजुभाइ मान्दैनन् । एउटा खेलाडीले अर्को खेलाडीलाई गर्ने व्यवहार हुन्छ । जब खेल सकिन्छ, त्यसपछि चोटपटक लागेको छ भने दाजुभाइले एकापसमा मलम लगाएर सहारा दिने गरेको आरिफले बताए । ‘खेलमा दाजुभाइ भनिंदैन,’ उनले भने, ‘प्रतिस्पर्धीलाई हराउने धुन हुन्छ ।’ उनीहरूका तीन छोरा पनि यसै खेलप्रति आकर्षित छन् ।
राष्ट्रिय खेलकुदमा हक्कीको प्रतिस्पर्धा बुधबारदेखि सुरु भएको छ ।

यो खेलमा यी चार दाजुभाई मात्र होइन अन्य खेलाडीहरू पनि दाजुभाइ, दिदीबहिनीदेखि जुम्ल्याहसमेत सहभागी छन् । पुलिस क्लबका तर्फबाट जुम्ल्याह दाजुभाइ प्रकाश र प्रवेश खनियाले भाग लिएका छन् । लमजुङका उनीहरू ६ वर्षदेखि एकसाथ खेल खेल्दै आएका हुन् । प्रकाश प्रवेशभन्दा ५ मिनेटले जेठा हुन् ।
उनीहरूको हक्की खेलप्रतिको रुचि सँगै पलाएको हो । एउटै लुगा, उस्तै अनुहार र उही खेल खेल्दा दुई दाजुभाइको रौनक देखेर दर्शक आश्चर्य मान्छन् । उस्तै अनुहार हुँदा खेलमा प्रतिपक्षी झुक्याउन सजिलो हुने प्रकाशले बताए । ‘हामी दुवैतिर फैलिएर खेल्छौं,’ उनले भने, ‘यस्तो बेला खेलाडी अनुहार हेर्दै अलमल पर्छन् । यसको मौका छोप्न हामी चुक्दैनौं ।’

प्रदेश १ को हक्की टिममा दाजुभाइ अनिश र मनीष मगर छन् । झापा, भद्रपुर–९ का उनीहरूको यस खेलको प्रवेशको कथा रोचक छ । दुवै लाहुरे बन्न चाहन्थे, यसका लागि शरीरको स्टामिना बढाउनुपर्छ । हक्की खेलले शरीर फूर्तिलोसँगै स्टामिना बढाउने सुनेर हक्की खेल्न थालेका उनीहरूले यसैलाई करिअर बनाउने चक्करमा फसे । १८ वर्षीय अनिशले र १७ वर्षीय मनीषले ब्रिटिस लाहुरे बन्न एकपल्ट प्रयास गरे पनि शरीरको एलर्जीका कारण फेल भए । हक्की खेलबाट यी दुवै दाजुभाइले लाहुरेको सपना पूरा गर्न चाहन्छन् ।

त्यस्तै, नेपालगन्जमा चैत ३० गते हुने महिलातर्फको हक्की खेलमा सहभागी हुन आएका महिला खेलाडीमा पनि एउटै परिवारका दिदीबहिनी छन् । गण्डकी प्रदेशकी हक्की महिला खेलाडीको टिममा तीन परिवारका दिदीबहिनी सहभागी छन् । नयाँगाउँ–१५ की मनिता र मनिला रानामगर । १६ वर्षीया मनिला दिदी हुन् । उनले तीन वर्षअघिदेखि हक्की खेल खेल्दै आएकी छन् ।
खेलमा दिदीको प्रशंसा देखेर १५ वर्षे बहिनी मनिता आकर्षित भएको बताइन् । ‘मेरो लुगादेखि खानेकुरा सबै मन पराउँछे बहिनीले,’ मनिलाले रमाइलो गर्दै भनिन्, ‘हुँदा हुँदै खेल पनि मन पराउन थालेकी छ ।’ नयाँगाउँकै नानु र पवित्रा गुरुङ दिदीबहिनीलेहक्कीमै भविष्य सुनिश्चित देखेका छन् । बहिनी पवित्राको डिफेन्स राम्रो छ भनेदिदीको फरवार्डमा ।

२१ वर्षीया देविका सिनियर खेलाडीमा गनिन्छिन् । उनको प्रभावमा बहिनीले भर्खरै मात्र खेलमा झुकाव दिन थालेकी हुन् । खास गरी महिला हक्की खेलाडीको संख्या कम भएकाले खेलमा अवसरै अवसर छ । अवसर हुने खेलको छनोट गर्दा छिट्टै सफलता हासिल हुने सरिताको अनुभव छ । ‘हक्की खेलमै परिचय बनाउँछु,’ उनले भनिन् । पछिल्लो केही वर्षयता हक्की खेलको आकर्षणबढ्दो छ । एसियाभर १ सय ३५ देशमध्ये नेपाल ८८ स्थानमा रहेको राखेपको हक्कीका मुख्य प्रशिक्षक विजेन शर्माले बताए ।

स्रोत:कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *