आईटीएफ टेनिस पोखरामा

अन्तर्राष्ट्रिय टेनिस महासंघ (आईटीएफ) ले यू–१८ जुनियर टेनिस च्याम्पियनसिप पोखरामा गर्ने भएको छ । आईटीएफले माघ १९ देखि फागुन ४ सम्म गर्ने सर्किट १ र २ च्याम्पियनसिपको व्यवस्थापन कास्की जिल्ला टेनिस संघले गर्ने छ । 

पोखरा रंगशालामा रहेका ५ टेनिस कोर्टमा प्रतियोगिता हुनेछ । संघले शुक्रबार पत्रकार सम्मलेन गरी सिंगल्स र डबल्स दुवै विधामा प्रतियोगिता हुने जनाएको छ । प्रतियोगिता व्यवस्थापन संयोजक सूर्यबहादुर भुजेलले नेपालमा दोस्रोपल्ट प्रतियोगिता हुन लागेको बताए । उनका अनुसार गत वर्ष काठमाडौंमा यस प्रतियोगिता भएको थियो ।

प्रतियोगितामा सहभागी हुन ३८ देशका खेलाडीले दर्ता गरेका छन् । तीमध्ये १ सय २७ पुरुष र ९७ महिला छन् । आयोजक राष्ट्रले तीन खेलाडीलाई ‘वाइल्ड कार्ड’ मार्फत सोझै प्रतियोगितामा खेलाउन पाउने प्रावधान छ । प्रतियोगिता हुने बेलासम्म आवेदकको संख्या घटबढ हुनसक्ने संयोजक भुजेलले बताए । ‘यो ग्रान्ड स्लामको ढोका खोल्ने प्रतियोगिता हो,’ उनले भने, ‘त्यसैले पनि यहाँ खेलेर अंक जोड्ने खेलाडीको चाहना हुन्छ ।’ आईटीएफले प्रत्यक्ष अवलोकन गर्ने भएकाले प्रतियोगिता ग्रान्ड स्लामको प्रि–क्वालिफिकेसन म्याचजस्तै हुने उनले जनाए ।

पहिलो दुई दिन क्वालिफिकेसन राउन्ड हुनेछ । उक्त छनोट चरणबाट छानिएर महिला र पुरुषतर्फ ६४–६४ खेलाडीले भाग लिनेछन् । ग्रेड ५ प्रतियोगितामा विजेताले २ सय ५० अंक जोड्नेछन् । विजेताले पुरस्कार पाउँदैनन् । प्रतियोगिताको सम्पूर्ण प्राविधिक पक्ष आईटीएफले नै हेर्छ । म्याच अफिसियल आईटीएफले नै ल्याउने छ । कास्की जिल्ला टेनिस संघले खेलाडी, पाहुना, कोर्टलगायतको व्यवस्थापन गर्नेछ ।

संघ कास्कीका अध्यक्ष दोर्जे लामाले ठूलो संख्यामा विदेशी खेलाडी आउने भएकाले पोखराको खेल पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । उनले व्यावसायिक खेलाडीले सहभागिता जनाउने भएकाले पनि प्रतियोगिता रोचक हुने जनाए । ‘टेनिसको यति ठूलो प्रतियोगिता दोस्रोपल्ट हुँदै छ,’ उनले भने, ‘पोखराले यो अवसर पाउँदा अन्तर्राष्ट्रिय टेनिस खेलाडीबीच चर्चा हुनेछ ।’ प्रतियोगितापछि पोखरामा टेनिसको गतिविधि बढ्ने उनको विश्वास छ । ‘यो खेल महँगो छ भन्ने भ्रमले लक्षित वर्गसम्म पुग्न सकेका छैनौं,’ पत्रकार सम्मेलनमा उनले भने, ‘खेलबारे बुझाउन पनि प्रतियोगिता सहयोगी बन्नेछ ।’

नेपाल टेनिस संघले यो प्रतियोगिता काठमाडौंमै आयोजना गर्न एक वर्षअघि नै आईटीएफमा आवेदन गरेको थियो । संघले राजधानीको सातदोबाटोमा रहेको क्ले कोर्ट भत्काएर हार्ड कोर्ट बनाउन लागेकाले पोखरामा गर्ने प्रस्ताव गर्‍यो ।

आईटीएफले पोखराको कोर्ट अवलोकन र यसअघिका प्रतियोगिता व्यवस्थापन हेरेपछि पोखरामा गर्ने स्वीकृति दिएको सचिव नवीन चालिसेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *