छोरानातिलाई फुटबल खेलाउन श्रमदान

लमजुङ — एउटा हातमा लट्ठी टेक्दै अर्को हातले काँधमा ढुंगा समात्दै । घरैमा आराम गर्नुपर्ने उमेरमा बेंसीसहर–२ भकुण्डेका ८५ वर्षे कृष्णबहादुर थापाको मंगलबारको दिन यसरी बित्यो । भकुण्डे नजिकै खत्रीगाउँमा निर्माण गरिएको फुटबल मैदानमा डेढ सय गाउँलेबीच देखिएका उनी सबैभन्दा पाका हुन् । मंगलबार मध्यान्हको टन्टलापुर घाममा असिनपसिन भएर ढुंगा फालिरहँदा पनि उनको मुहारमा खुसी भेटिन्थ्यो । कारण, गाउँमा निर्माण भएको खेलमैदानमाआफ्ना छोरानातिले फुटबल खेल्न पाउने भए भनेर । ‘अचेल सहयोग, श्रमदान भन्ने कुरा हराउँदै गयो । मान्छे आफ्नै काममा मात्रै लागे,’ उनले भने, ‘छोरानातिले खेल्न पाउँछन्, रमाउँछन्, खुसी हुन्छन् भनेर ढुंगो बोक्दैछु 

भकुण्डेकै ८० वर्षीय धीरबहादुर खड्का मैदानको ढुंगा बटुल्दै र बोक्दै मैदान बाहिर फाल्न व्यस्त थिए । ‘अब मेरै छोरानातिले यहाँ फुटबल खेल्नेछन् । टाढा जानु पर्नेछैन । नत्र किन यति दुःख गर्नुपर्थ्यो र ?’ उनले भने । ८० वर्षे अमरबहादुर रावलले दिनभर ढुंगा टिपेर जम्मा पारेको बताए ।

‘बुढो शरीर, बोकेर सकिँदैन । जम्मा पार्न त सकियो नि,’ उनी उत्साही हुँदै भन्छन् । भकुण्डे डाँडाथोककी ७५ वर्षीया सुमित्रा अधिकारीले पनि दिनभर ढुंगा टिपेर फालेको सुनाइन् । ‘ढुंगा टिपेर फाल्दैमा हैरान भएँ । केटाकेटी, नातिपलाँति आउला नि अब । खेल्ने ठाउँ बन्यो,’ उनले भनिन् । उनका अनुसार अस्ट्रेलिया रहेका नाति विष्णु अधिकारी घर आएको बेला मैदानमा श्रमदान गरेको बताइन् । ‘हजुरबुवालाई लिएर खेल्ने मैदान देखाएँ । अब गाउँ आउँदा खेल्ने ठाउँ भयो भन्दै खुसी माने,’ उनले भनिन् ।

भकुण्डे तमु आमा समूहकी अध्यक्ष कौंशरी गुरुङका अनुसार आमा समूहका २८ सदस्य आएर अन्नपूर्ण खेलमैदानमा श्रमदान गरे । बाबा समूह पनि आयो । गाउँमा सम्याइएको मैदानको ढुंगा पन्छाउन डेढ सय बढीले एकैदिन श्रमदान गरेको मैदान निर्माण समितिका सचिव गोविन्दखड्काले बताए । ‘खेलमैदानमा श्रमदान गर्न गाउँलेले निर्णय गर्‍यो । सबै एकैदिन आएँ,’ उनले भने, ‘यसअघि पनि गाउँलेले पटक–पटक श्रमदान गरेका छन् । उनका अनुसार भकुण्डे तमु आमा समूह, श्रीशान्ति, क्रिशत्ति, मनकामना, नमुना आमा समूह साथै अन्नपूर्ण क्लब, मनकामना, लेक भ्यू ग्रीन सोसाइटीसँग आबद्ध युवा तथा वृद्धवृद्धाले समेत श्रमदान गरेका छन् ।करिब २५ रोपनी जग्गा खर्च गरेर तत्कालका लागि नाइन–ए–साइडको मैदान निर्माण गरिएको छ । यसलाई बढाएर पूर्ण साइडको बनाइने र कभर्डहल निर्माण गरिने मैदान निर्माण समितिले जनाएको छ । निर्माण कार्य पूरा गर्न २ करोड ५० लाख खर्चको स्टमेट तयार भएको समितिका अध्यक्ष मिलन थापाले बताए ।

मैदानका लागि साढे १५ रोपनी सार्वजनिक जग्गा प्रयोग गरिएको छ । साढे ९ रोपनी किन्नुपर्नेमा काजीराम बस्नेतले १ रोपनी, खड्गबहादुर बस्नेत र विष्णुमाया खड्काले ९–९ आना र पदमकुमारी खड्काले साढे ८ आना जग्गादान गरेका छन् । अब ७ रोपनी किन्न बाँकी रहेको समितिले जनाएको छ मैदानका लागि गोविन्दबहादुर खड्काले १ लाख १ हजार १ सय ११ सहयोग गरेका छन् । मैदानको ढुंगाबाट २ लाख १५ हजार ९ सय रुपैयाँ संकलन भएको छ । सबै गरेर ४ लाख ७८ हजार २ सय ७२ रुपैयाँ संकलन भएको निर्माण समितिका सचिव गोविन्द खड्काले बताए । उनका अनुसार मैदान निर्माणका लागि सांसद देव गुरुङको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको १५ लाख र वडासहित बेंसीसहर नगरपालिकाले ५ लाख सहयोग छ ।अन्नपूर्ण क्लबका संस्थापक अध्यक्ष भरतबहादुर खड्काले २०४८ सालमा स्थापित क्लबले साढे दुई दशकपछि खेलमैदानको सुरुआत गर्न सफल भएको बताए । वडाध्यक्ष गणेशबहादुर कँडेलले वडामा खेलकुद साथै अन्य भौतिक संरचनाको विकास तीव्र गतिमा अघि बढेको बताए ।

स्रोत:कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *