सन्दीपको ५० विकेट

Get the facts काठमाडौँ — नेपाली युवा स्टार सन्दीप लामिछानेले ट्वान्टी–२० क्रिकेटमा ५० विकेट पूरा गरेका छन् । आईपीएलको अघिल्लो संस्करणमा रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध दिल्ली डेयरडेभिल्सका लागि ट्वान्टी–२० क्रिकेटमा डेब्यु गरेका १८ वर्षीय लामिछानेले आइतबार बैंग्लोरविरुद्धकै खेलमा १ विकेट लिएर ४० खेलमा ५० विकेट पूरा गरे ।

गतवर्ष मे १२ मा इन्डियन प्रिमियर लिगमा डेब्यु गरेयता सन्दीपले विश्वका प्रायः सबै क्रिकेट लिग खेलिसकेका छन् । उनले क्यारेबियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग, बिग बास लिग, बंगलादेश प्रिमियर लिग र पाकिस्तान प्रिमियर लिग खेलेका छन् । क्यानडामा भएको ग्लोबल क्रिकेट लिगको प्रदर्शन भने यसमा समावेश छैन ।

सन्दीपले १ वर्षको बीचमा ८ सय ६० बल फ्यालेर १ हजार रन खर्चंदै ५० विकेट पूरा गरेका हुन् । उनले ६.९७ को इकोनोमीमा बलिङ गरेका छन् । पाकिस्तान प्रिमियर लिगमा लाहोर क्लन्दर्सबाट क्वेटा ग्ल्याडिएटर्सविरुद्ध लिएको ४ विकेट सबैभन्दा उत्कृष्ट बलिङ प्रदर्शन हो । त्यस खेलमा उनले ४ ओभरमा १० रन खर्चेका थिए ।

आइतबार बैंग्लोरविरुद्ध ४ ओभरमा ४६ रन खर्चेर १ विकेट लिएका सन्दीपको सबैभन्दा खराब प्रदर्शनमध्ये एक यो पनि हो । यसअघि पाकिस्तान प्रिमियर लिगमा इस्लामाबाद युनाइटेडविरुद्ध पनि उनले ४६ रन दिएका थिए ।

आइतबार चिन्नास्वामी रंगशालामा घरेलु टोली बैंग्लोरविरुद्ध टस जितेर पहिले बलिङ गरेको दिल्लीबाट सन्दीपको प्रदर्शन महँगो बने पनि उनी १ विकेट लिन सफल भए । इनिङसको दसौं ओभरमा पहिलो ओभर बलिङ गरेका सन्दीपले १ छक्कासहित १० रन खर्चिए । १२ ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गर्दा सन्दीपले ६ रन खर्चिए ।

१५ औं ओभरमा तेस्रो ओभर बलिङ गरेका सन्दीपले १ छक्का र १ चौकासहित ११ रन खर्चिए पनि १ विकेट लिए । ओभरको तेस्रो बलमा उनले १८ बलमा ३२ रन बनाएर खेलिरहेका इंग्लिस ब्याट्सम्यान मोइन अलीलाई विकेटकिपर रिषभ पन्तबाट स्टम्पिङ आउट गराए । आफ्नो चौथो ओभर भने सन्दीपका लागि महँगो पर्‍यो । यस ओभरमा बैंग्लोरका कप्तान विराट कोहलीले २ छक्का प्रहार गरे । यस ओभरमा उनले २ छक्का र १ चौकासहित १९ रन खर्चिए ।

बैंग्लोरको छैटौं हार
सन्दीपले ट्वान्टी–२० मा ५० विकेट पूरा गरेको खेलमा उनको टोली दिल्लीले बैंग्लोरलाई ४ विकेटले पराजित गर्‍यो । भारतीय राष्ट्रिय टोलीका कप्तान विराट कोहलीले नेतृत्व गरेको बैंग्लोरले आईपीएलमा लगातार छैटौं हार बेहोरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाउँदा कप्तान कोहलीले ४१ र मोइन अलीले ३२ रन जोडेका थिए । एक से एक स्टार खेलाडीले भरिएको बैंग्लोरका लागि अन्यले अपेक्षाकृत रन बनाउन सकेनन् । बलिङमा दिल्लीका कागिसो रावाडाले ४ विकेट लिए । उनले ४ ओभरमा २४ रन खर्चिए । क्रिस मोरिसले २ तथा अक्सर पटेल र सन्दीपले १/१ विकेट लिए ।

१ सय ५० रनको लक्ष्य दिल्लीले इनिङको ७ बल बाँकी छँदा भेट्टायो । दिल्लीका कप्तान श्रीयास एय्यरले ५० बलमा ८ चौका र २ छक्कासहित ६७ रनको अर्धशतकीय इनिङस खेले । ओपनर पृथ्वी श २८ र कोलिन इनग्रामले २२ रन बनाए । बैंग्लोरका नभदीप सैनीले २ विकेट लिए ।

आईपीएलमा यो सिजन अहिलेसम्म अंक हासिल गर्न नसकेको बैंग्लोरले यसअघि चेन्नाई सुपर किंग्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदराबाद, राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्ससँग पराजय बेहोरेको थियो ।

स्रोत:कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *