‘ड्रिम जब’

useful source मुख्य प्रश्न के सोल्ससारलाई व्यवस्थापकमा नियुक्त गर्नु ठीक निर्णय हो त ? मोउरिन्हो बर्खास्त हुने बेला सट्टेबाजले सम्भावित १२ प्रशिक्षकको सूची बनाउँदा सोल्ससार कतै थिएनन् ।

काठमाडौँ — न् १९९९ मे २८  । बार्सिलोनाको नु क्याम्प मैदान  ।

म्यानचेस्टर युनाइटेडको समर्थकले त्यो दिनलाई कहिल्यै बिर्सन सक्ने छैनन् । युरोपेली च्याम्पियन्स लिगको फाइनलमा भिड्दै थिए, म्यानचेस्टर युनाइटेड र बायर्न म्युनिख । म्यानचेस्टरका समर्थक मात्र होइन, अरू धेरैले पनि बारम्बार दोहोराएर सम्झिने खेल हो, यो । खेलले ९० मिनेट छुँदा पनि बायर्न १–० ले अगाडि थियो । बायर्नका समर्थक अब उपाधि तिनकै क्लबको हो भनेर खुसियाली मनाइरहेका थिए ।

म्यानचेस्टर समर्थक निराश थिए, सके केहीले रंगशाला पनि छाडिसकेका थिए । तर, त्यस फाइनलमा अझै धेरैथोक बाँकी थियो । खेलका फोर्थ अफिसियलले के ४ मिनेटको इन्ज्युरी टाइम देखाए, लगतै टेडी सेरिङ्घमले एक गोल फर्काए, खेल १–१ को बराबरीमा पुग्यो । म्यानचेस्टर खेलमा फर्किसकेको थियो । इन्ज्युरी समयको तेस्रो मिनेटमा डेबिड बेकह्यामले प्रहार गरेको कर्नरमा तिनै सेरिङघमले अवसर मिलाइदिए र गोल गर्ने पालो थियो, ओले गन सोल्ससारको । व्यवस्थापक एलेक्स फर्गुसनले ८० औं मिनेटमा मात्र उनलाई मैदानमा छिराएका थिए, सब्टिच्युट खेलाडीका रूपमा । अब अपार र विश्वास गर्न नसकिने गरेर खुसी हुने पालो म्यानचेस्टरको थियो, दुःख र पीडा सबै बायर्नको भागमा पोखिएको थियो । त्यो सिजन म्यानचेस्टरका लागि साँच्चै गज्जब रह्यो, क्लबले तीन उपाधि जित्यो । च्याम्पियन्स लिग त भइहाल्यो, सँगै प्रिमियर लिग र एफएकप पनि । यसअघि यस्तो उपलब्धि अरू कसैले आत्मसात् गर्न
सकेका थिएनन् ।

अहिले फेरि एकपल्ट त्यो खेलको यसरी सबैले किन चर्चा गरिरहेका छन् भने म्यानचेस्टरले भर्खरै तिनै सोल्ससारलाई व्यवस्थापकका रूपमा नियुक्त गरेको छ, ३ वर्षका लागि । यसअघि उनी क्लबका ‘केयरटेकर म्यानेजर’ मात्र थिए, जोसे मोउरिन्होको बर्खास्तीपछि । मोउरिन्हो छँदा म्यानचेस्टरजस्तो हुने गर्थ्यो, त्यस्तो केही पनि थिएन । क्लबले निकै खराब खेल्यो । खेलाडी खेलाडीबीच कलह थियो । प्रशिक्षक र खेलाडीबीच नै सम्बन्ध राम्रो हुन सकेन । मोउरिन्हो आफ्नै खेलाडीको चर्को आलोचना गर्थे । सबैभन्दा गलत त के भयो भने ड्रेसिङ रुममा विश्वासको वातावरण नै बन्न सकेन । प्रत्येक खेलमा संघर्ष गर्‍यो र अन्ततः पोर्चुगाली प्रशिक्षक बर्खास्तीमा परे । त्यसपछि त हो, केही समयका लागि भनेर म्यानचेस्टरले सोल्ससारलाई डाकेको । तर उनी के आए, म्यानचेस्टरमा खुसी आयो, खुसीसँग जित पनि । म्यानचेस्टरको विशेषता नै हो, यसले त्यस्तो फुmटबल खेल्छ, जुन आक्रामक हुन्छ ।

खेल आत्रामक मात्र भएर पनि पुगेन, यो सुन्दर पनि हुनुपर्छ । हेर्नेले आहा भन्नुपर्छ । अनि म्याचेस्टरको नीति नै हो, आफैं खेलाडी उत्पादन गर्ने । बजारबाट राम्रा खेलाडी किन्ने बानी म्यानचेस्टरले कहिले पनि बनाएन । बरु सुरुमै सस्तोमा राम्रो हुन सक्ने खेलाडी किन्यो, पछि त्यसलाई हुर्कायो । फर्गुसनको शैली भन्दा हुन्छ, यो । अनि बायर्नविरुद्धको त्यस खेलमा जस्तै अन्तिम समयसम्म पनि हरेस नखाने । खेलमा पछाडि रहेको स्थितिमा पनि पेलेरै जित निकाल्ने । त्यसै शैलीमा हुर्के बढेका हुन्, नर्वेली सोल्ससार । च्याम्पियन्स लिगको त्यो फाइनलपछि त उनी म्यानचेस्टरका ‘लेजेन्ड’ नै भए । अब उनकै हातमा छ, त्यही सबैलाई कायल बनाउने म्यानचेस्टरको विरासतलाई अगाडि बढाउने । उनी आएयता प्रिमियर लिगको अंकतालिकामा संघर्ष गरिरहेको म्यानचेस्टर शीर्ष चारका लागि राम्रो प्रत्याशी बनेको छ । सोल्ससारलाई पूरा विश्वास छ, म्यानचेस्टर शीर्ष चारमा अटाउनेछ । त्यसको अर्थ म्यानचेस्टर अर्को सिजनको च्याम्पियन्स लिगका लागि छनोट हुनु पनि हो ।

फेरि म्यानचेस्टर यसपल्टको च्याम्पियन्स लिगको अन्तिम आठमा पनि पुगिसकेको छ । म्यानचेस्टरलाई यहाँसम्म पुर्‍याउन सक्नु नै सोल्ससारको सफलता हो । त्यसैले म्यानचेस्टरले उनलाई लामो समयकै लागि व्यवस्थापकका अनुबन्ध गर्न धेरै सोच्न चाहेन । अन्तिम १६ मा म्यानचेस्टले पेरिस सेन्ट जर्मेन (पीएसजी) माथि हात पारेको जित नै खासमा सोल्ससार र म्यानचेस्टर दुवैका लागि ‘टर्निङ प्वाइन्ट’ रह्यो । अहिलेका खेलाडी, पूर्व खेलाडी र समर्थक सबै सोल्ससारकै पक्षमा आए । यहाँनिर पीएसजीविरुद्धको दुई लेगको खेललाई सम्झनु आवश्यक छ । ओल्ड ट्रायफोर्डमा भएको पहिलो लेगमा म्यानचेस्टर २–० ले पराजित रह्यो । घरमै म्यानचेस्टर यसरी पराजित भएपछि धेरैको आस मरिसकेको थियो । तर म्यानचेस्टरले गज्जब नै गर्‍यो, पीएसजीलाई उसकै पेरिसको घरमा गएर ३–१ ले हराइदियो । मार्कस रसफोर्डले इन्ज्युरी समयको चौथो मिनेटमा पेनाल्टीबाट गोल गरे र म्यानचेस्टर ‘अवे गोल’ मा अर्को चरण पुग्यो ।

यो खेलमा धेरै भन्दा धेरै बायर्नविरुद्धको पुरानो खेलका झझल्को थियो । त्यही बेला धेरैले भनिसकेका थिए, अब म्यानचेस्टरका प्रशिक्षक हुने भनेका यिनै सोल्ससार हुन् । यसको औपचारिक पूरा गर्ने काम म्यानचेस्टरले भर्खरै गरेको हो । यी त भए, सबै पृष्ठभूमि । मुख्य प्रश्न के हो भने के सोल्ससारलाई व्यवस्थापकमा नियुक्त गर्नु ठीक निर्णय हो त ? मोउरिन्हो बर्खास्त हुने बेला सट्टेबाजले सम्भावित १२ प्रशिक्षकको सूची बनाउँदा सोल्ससार कतै थिएनन् । फर्गुसनले छाडेयता म्यानचेस्टर कहिल्यै पुरानो लयमा देखिएन । उनी यता डेबिड मोयस आए, लुइस भान गाल पनि आए । बीचमा सोल्ससाकै साथी रायन गिग्सले पनि केही समय टिम हेरे । त्यसपछि मोउरिन्हो आए । उनी आउँदा तत्कालनै भनिएको थियो, मोउरिन्हो र म्यानचेस्टरबीचको जोडी नै मिल्दैन । यो बेमेल जोडी हो । यस्तै भयो । सोल्ससारलाई लिएर यो समस्या छैनन् । यसका लागि खास खास कारण दिन सकिन्छ ।

पहिलो कारण त, बायर्नविरुद्धको त्यो गोल । दोस्रो कारण, फर्गुसनको नेतृत्वमा म्यानचेस्टरले एकपछि अर्को उपाधि जितिरहँदा सोल्ससार त्यसका एक प्रमुख खेलाडी थिए । तेस्रो कारण, उनी साँच्चै भलाद्मी छन् । सायद उनी रिसाउन नै जाँदैनन् । ब्रिटिस मिडियाले यसका लागि दिएको कारण पनि गज्जब छ । अहिलेसम्म पनि इंग्ल्यान्डमा उनको नाम कमैले मात्र सही ढंगले उच्चारण गर्न सकेका छैनन । तर पनि सोल्ससार कहिले पनि रिसाएनन् । फेरि उनको अनुहार नै ‘बेबी फेस’ खालको छ । उनलाई जत्तिले नजिकबाट हेर्ने अवसर पाउँछ, सबैले भनिहाल्छन्, कति कलिलो उमेरका देखिन्छन्, उनी । उनको अनुहार देख्यो कि धेरैको रिस मर्छ भनिन्छ । र, चौथो कारण, सबैभन्दा महत्त्वपूर्ण कारण । सोल्ससार म्यानचेस्टर भनेपछि त्यसका लागि सच्चा छन्, इमानदार छन् । म्यानचेस्टरलाई छाडेर दायाँ–बायाँ अरू सोच्दैनन् । म्यानचेस्टर पनि उनको यो ‘रोयल्टी’ सिद्ध गर्न एउटा राम्रो प्रमाण पनि छ । म्यानचेस्टर आउन अगाडि उनी नर्वेली क्लब मोल्डेमा थिए । यसभन्दा पनि अगाडि उनले कार्डिफ सम्हालेका थिए, तर त्यो क्लब प्रिमियर लिगबाट रेलिगेसनमा पर्‍यो । त्यही बेला सोल्ससारलाई के लागेछ भने सायद यसले उनलाई म्यानचेस्ट सम्हाल्ने सपना सधैंका लागि तुहाएको छ । तर उनले आफ्नो सपनालाई भने मर्न दिएनन् । त्यसैले मोल्डेसँग अनुबन्ध गर्न नै एउटा सर्त राखेका थिए, म्यानचेस्टरले बोलायो भने बिनासर्त छाड्नुपर्छ ।

यस्तै भयो पनि । सोल्ससारले केही समयअगाडि भनेका थिए, ‘मान्छेले मलाई गाली गर्न सक्छन्, मूर्ख भन्न सक्छन्, तर मैले म्यानचेस्टरको व्यवस्थापक बन्ने सपना कहिले पनि मारिनँ ।’ मान्छेले सपना देख्न छाड्नु हुन्न । खालि त्यो सपना पूरा गर्न आफूलाई योग्य भने बनाउनुपर्छ, त्यसका लागि लगातार मिहिनेत पनि गर्नुपर्छ । सोल्ससारले यस्तै–यस्तै काम गरे । उनले ‘ड्रिम जब’ पाएका छन् । अबका दिनमा म्यानचेस्टरले उनको नेतृत्वमा कसरी खेल्छ, त्यो मात्र हेर्न बाँकी छ ।

स्रोत:कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *