ओलम्पिक छनोट : नेपालको हार

काठमाडौँ — नेपाली महिला राष्ट्रिय फुटबल टिमले बुधबार आयोजक म्यानमारविरुद्ध ३-१ को पराजयसँगै २०२० ओलम्पिक छनोटको दोस्रो चरणको यात्रा सुरु गरेको छ । मान्डलर थिरि रंगशालामा भएको खेलमा विन थिन्गी तुनको दुई गोल सहयोगमा म्यानमारले महत्त्वपूर्ण ३ अंक जोडेको हो ।

नेपाललाई लगातार तेस्रोपल्ट पराजित गर्न भने उसलाई सजिलो भएन । थिन्गी तुनले दुवै गोल दोस्रो हाफमा गरेकी थिइन् । यी यी ओले २४ औं मिनेटमा गोल गर्दै म्यानमारलाई अग्रता दिलाएकी थिइन् । उनले हाफ भलीमा लोभलाग्दो गोल गर्दै खाता खोलेकी थिइन् । कप्तान निरु थापाले पहिलो हाफको इन्ज्युरी टाइममा गोल गर्दै नेपाललाई १-१ को अवस्थामा पुर्‍याएकी थिइन् । उनले इन्ज्युरी टाइमको दोस्रो मिनेटमा पाएको कर्नरमै सिधै बललाई पोस्टको दिशा दिएर नेपालको आस बढाएकी थिइन् ।

थिन्गी तुनले दोस्रो हाफमा उत्कृष्ट खेल देखाउँदै निर्णायक भूमिका निर्वाह गरिन् । उनले ५० औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै घरेलु टिमलाई २-१ ले अघि बढाइन् । इन्ज्युरी टाइममा गोलकिपर एन्जिला तुम्बापो सुब्बालाई छक्याउँदै गोल गर्दै तुनले ९० औं मिनेटमा म्यानमारको जित पक्का गरेकी थिइन् ।

गत नोभेम्बरमा भएको पहिलो चरणको छनोटमा पनि नेपाल र म्यानमार भिडेका थिए । यांगुनमा भएको उक्त खेल १-१ मा सकिएको थियो । फेब्रुअरीमा भारतको भुवनेश्वरमा भएको हिरो वुमेन्स गोल्डकपको भेटमा भने म्यानमारले समूह चरणमा ३-० र फाइनलमा ३-१ को जित निकालेको थियो ।

समूह ‘ए’ को अर्को खेलमा साफ च्याम्पियन भारतले इन्डोनेसियालाई २-१ ले हरायो । नेपालले दोस्रो खेलमा शनिबार भारतको सामना गर्नेछ । यी दुईले फागुन ८ मा विराटनगरमा सम्पन्न साफ वुमेन्स च्याम्पियनसिपको उपाधिका लागि पनि प्रतिस्पर्धा गरेका थिए । त्यसमा भारतले ३-१ को सफलता हात पारेको थियो ।

स्रोत:कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *