आर्मी र थ्रीस्टारको लक्ष्य एउटै, अभियान फरक

बाराको सिमरा रंगशालामा भइरहेको दसौं सिमरा गोल्डकप फुटबलको उपाधि कस्ले जित्ला ? सिमरामा शनिबारसम्मका लागि चर्चाको विषय बनेको छ ।

थ्रीस्टारका कप्तान र प्रशिक्षक तथा आर्मीका प्रशिक्षक र म्यानेजर सिमरा गोल्डकप ट्रफी उचाल्दै । तस्बिर : पवन/कान्तिपुर

नव जनजागृति युवा क्लब सिमराको आयोजनामा १० वर्षदेखि निरन्तर हुँदै प्रतियोगिताको शनिबार हुने फाइनलमा साबिक विजेता त्रिभुवन आर्मी क्लबले रुस्लान थ्रीस्टार क्लबसँग प्रतिस्पर्धा गर्दै छ ।
थ्रीस्टारले हिमालयन शेर्पा र आर्मीले आयोजक नव जनजागृतिलाई समान १–० को झिनो गोल अन्तरले हराउँदै उपाधिमा दाबेदारिता प्रस्तुत गरेका हुन् । दुवै ‘ए’ डिभिजन लिगका प्रतिस्पर्धी हुन् ।
दुईपल्ट उपाधि जितिसकेको आर्मर्ीले लगातार दोस्रोपल्ट थ्रीस्टारको सामना गर्दै छ । गत वर्ष पनि थ्रीस्टारलाई हराउँदै आर्मीले उपाधि जितेको थियो । २०७१ सालमा सम्पन्न छैटौं संस्करण विजेता आर्मी चौथोपल्ट सिमरा गोल्डकपको फाइनल खेल्दै छ । आठौं संस्करणको फाइनलमा भने संकटा क्लबसँग पराजित हुँदै आर्मीले उपाधि गुमाएको थियो ।
सिमरा गोल्डकप इतिहासमा मनाङ मस्र्याङ्दी र आर्मीले २–२ पटक उपाधि जितिसकेका छन् । तर मनाङले यसपल्ट सहभागिता जनाएन । यसपालि आर्मी तेस्रो पटक च्याम्पियन बन्दै प्रतियोगिताको सफल टोली बन्ने दाउमा छ । दोस्रोपल्ट फाइनल पुगेको थ्रीस्टार भने आर्मीसँग बदला लिने अभियानमा छ ।
एपीएफलाई ४–२ ले हराउँदै सिमरा गोल्डकपको यात्रा सुरु गरेको आर्मीले सेमिफाइनलमा आयोजक नव जनजागृतिलाई १–० ले हराएको थियो । थ्रीस्टारले फाइनलसम्मको यात्रा तय गर्दा संकटालाई २–० र हिमालयन शेर्पालाई १–० ले पन्छाए । थ्रीस्टारकागोलकिपर एलन न्यौपाने गोल खाएका छैनन् । आर्मीका टंक बस्नेत र थ्रीस्टारका फोफाना फोडे समान २ गोलसहित सर्वाधिक गोलकर्ता सूचीमा अगाडि छन् । दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्ने रणनीतिसाथ मैदान उत्रने शुक्रबार आयोजित प्रि–म्याच कन्फ्रेन्समा बताएका छन् ।
थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले आफ्नो टोली फाइनल जित्दै सिमरा गोल्डकपको सिल्डमा नाम लेखाउने प्रयासमा रहेको बताए । ‘हामीलाई फाइनल जितेर सिमरा गोल्डकपको विजेता सूचीमा नाम लेख्नु छ,’ आर्मीका पूर्व प्रशिक्षक उनले दाबीसाथ भने, ‘दुवै टिम जित्नका लागि मैदान उत्रन्छ नै । तर हामी आर्मीविरुद्ध विशेष तयारीसाथ उत्रन्छौं ।’
आर्मी र थ्रीस्टार दुवै टिमका खेलाडीले सिमरामा स्तरअनुसारको प्रदर्शन गर्न नसकेको भन्दै प्रशिक्षक केसीले लगातारको प्रतियोगिताका कारण दुवै टिमको प्रदर्शन प्रभावित भएको जनाए । ‘आर्मीकै कुरा गर्दा कतिपयदेखिनुपर्ने अनुहार टिममा छैनन्,’ उनले भने, ‘थ्रीस्टारको पनि लिगपछि केही खेलाडीबाहिरिएका छन् । नयाँ आएकाहरू टिममा एडजस्ट भइसकेका छैनन् ।’
थ्रीस्टारका कप्तान विक्रम लामाले आर्मीसँग खेल्नु आफूहरूका लागी एउटा सुनौलो अवसर भएको बताए । ‘उच्च फर्ममा रहेको आर्मीसँग खेल्दा हामीले केही नयाँ कुरा सिक्ने अवसर पाउँछौं,’ उनले भने, ‘हाम्रा लागि यो अवसर सौभाग्यपूर्ण छ । हामी उपाधि उचाल्ने मौका आफ्नो हातबाट खेर जान दिँदैनौं ।’
फाइनलका दुवै टोली राम्रो भएका कारण खेल बराबरीको हुने आर्मीका प्रशिक्षक नवीन न्यौपाने बताउँछन् । ‘जसले मौकाको सदुपयोग गर्नसक्छ उसले नै बाजी हात पार्छ,’ उनले भने, ‘फाइनल पुगेका दुवै टिम सशक्त हुने भएकाले विशेष रणनीति र मिहिनेत जरुरी पर्छ ।’
एक साताअघि वीरगन्जमा सम्पन्न विशाल मेमोरियल गोल्डकप जितेको आर्मीले त्यसको भोलिपल्टै सिमरा गोल्डकप खेलेको स्मरण गर्दै प्रशिक्षक न्यौपानेले टिमका केही खेलाडीलाई मिस गरेको बताए ।
उनका अनुसार लिगपछि नवयुग श्रेष्ठ, दिनेश हेम्जनलगायतका केही खेलाडी आर्मी टोलीमा छैनन् । ‘उनीहरूलाई पक्कै मिस गरेका छौं । वीरगन्जमा उनीहरूबिनाको टिमले उपाधि जितिसकेकाले अरु खेलाडी पनि सक्षम देखिएका छन् । लिगपछि पहिलोपल्ट नकआउट फुटबलमा थ्रीस्टारसँग भिड्न लागेकाले यस खेललाई महत्वसाथ लिएका छौं,’ प्रशिक्षक न्यौपानेले भने ।
थ्रीस्टार प्रशिक्षक केसीले लिगपछिको यस सिजनमा आाफूहरूले भाग लिएको दुई प्रतियोगितामध्ये दुवैमा फाइनल पुगेकाले मनोबल उच्च बनेको बताए ।उपाधि रक्षाका लागि कडा संघर्ष गर्ने आर्मी प्रशिक्षकको दाबी रहँदा सिमरा गोल्डकमा इतिहास कोर्ने अभियानमा आर्मीविरुद्ध खरो उत्रने थ्रीस्टार प्रशिक्षकले भनाइ छ ।
आर्मीको तर्फबाट प्रशिक्षक नवीन न्यौपाने र टिम म्यानेजर चुनबहादुर थापा तथा थ्रीस्टारका प्रशिक्षक मेघराज केसी र कप्तान विक्रम लामा प्रिम्याच कन्फ्रेन्समा ट्रफी उचालेका थिए । आर्मी कप्तान भरत खवास सहभागि थिएनन् ।

स्रोत : कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *