जोकोभिचलाई सातौंपल्ट अस्ट्रेलियन ओपन

राफल नाडललाई आइतबार ६–३, ६–२ र ६–३ को सेटमा हराउँदै सातौंपल्ट अस्ट्रेलियन ओपनको उपाधि जितेपछि नोभाक जोकोभिचले भने, ‘ग्रान्डस्लाम टेनिसकै सबैभन्दा उत्कृष्ट फाइनल ।’

वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनको फाइनलमा राफल नाडलविरुद्ध प्रतिस्पर्धा गर्दै शीर्ष वरीयताका सर्वियन खेलाडी नोभाक जोकोभिच । सातौंपल्ट उपाधि जितेपछि ट्रफीसाथ (तल) ।तस्बिर : रोयटर्स 

‘यो सर्वश्रेष्ठमध्येको एक हो । त्यसो होइन भने पनि मैले अहिलेसम्म खेलेका ग्रान्डस्लाम फाइनलमध्येउत्कृष्ट हो,’ मात्र २ घण्टा १५ मिनेटमा करिअरको १५ औं उपाधि जितेका शीर्ष वरीयताका सर्वियन स्टार जोकोभिचले भने ।निरीह देखिएका दोस्रो वरीयताका नाडलले ३१ वर्षीय जोकोभिचलाई रोजर फेडेरर र रोय इमर्सनभन्दा एक कदम अगाडि पुर्‍याइदिए । यी दुवैले समान ६ पल्ट अस्ट्रेलियन ओपनको उपाधि जितेका छन् । शीर्ष वरीयताका जोकोभिचले आफ्ना सबैभन्दा ‘ठूलो’ प्रतिद्वन्द्वीलाई हराएपछि घुँडा टेके र मैदान चुमे । ‘यो परिस्थितिमा सम्भवत: सर्वश्रेष्ठ स्तरको टेनिस जो मैले फाइनलमा राफलसँग खेलेँ,’ जोकोभिचले भने ।

‘म पछिल्लो १२ महिना आफ्नो अवस्थाबारे पुनर्ताजगी गर्ने प्रयास गरिरहेको छु । ठीक १२ महिना पहिला मेरो शल्यक्रिया भएको थियो,’ उनले भने । कुहिनाको शल्यक्रियापछि टेनिसबाट टाढिएका उनी विश्व वरीयतामा शीर्ष २० बाट बाहिरिइसकेका थिए । तर विम्बल्डन र यूएस ओपनको उपाधि जितेर उनले उत्कृष्ट पुनरागमन गरे ।

‘आज यहाँ तपाईंहरू सामुन्ने रहँदा र पछिल्लो चारमध्ये तीन ग्रान्डस्लामको उपाधि जित्न सक्नु आश्चर्यजनक हो । म अवाक् छु,’ जोकोभिचले भने । सन् २०१२ को अस्ट्रेलियन ओपनको फाइनलमा यो जोडीले कीर्तिमानी ५ घण्टा ५३ मिनेट प्रतिस्पर्धा गरेको थियो । जुन ग्रान्डस्लाम इतिहासकै सबैभन्दा लामो फाइनल भिडन्त हो ।

जोकोभिचले भने कि तीव्र सुरुआत जहिले पनि मेरो योजना बन्ने गर्छ । उनले भने, ‘यहाँ बिल्कुल त्यही भयो, जुन मेरो लक्ष्य थियो । तीव्रताका साथ खेल अघि बढाउनु किनभने मलाई थाहा छ कि अर्कोतर्फ मेरो विपक्षी कमजोरी पहिल्याउन चनाखो हुनेछन् ।’

हारपछि नाडलले आफू कमजोर रहेको स्वीकारे । ‘आजको साँझ मेरा लागि उत्कृष्ट रहेन । तर मेरो विपक्षीका रूपमा यस्ता व्यक्ति थिए जसले आज मभन्दा धेरै राम्रो खेले,’ नाडलले भने । यो जितले नाडलविरुद्ध जोकोभिचको जित, हारको तथ्यांक २८–२५ ले बढेको छ र यी दुईले ग्रान्डस्लाम फाइनलमा ४–४ खेल जितेका छन् । विम्बल्डन र यूएस ओपन जितेका जोकोभिचले ग्रान्डस्लाममा एकै सिजन हयाट्रिक पूरा गरेका छन् । उनी फ्रेन्च ओपनका लागि मेमा पेरिस जानेछन् । र, दोस्रोपटक चारवटै ग्रान्डस्लाम जित्ने पहिलो खेलाडी बन्ने प्रयास गर्नेछन् ।

स्रोत : कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *