एन्फा छनोटमा २३ सय सहभागी

इनरुवा — सुनसरी जिल्ला फुटबल संघको संयोजन र अखिल नेपाल फुटबल संघको आयोजनामा भएको १३ वर्षमुनि र १६ वर्षमुनिका खेलाडीहरूको छनोटमा २ हजार ३ सय सहभागी भएका छन् ।सुनसरीको धरान, इटहरी, बक्लौरी र इनरुवामा भएको छनोटमा २ हजार ३ सय सहभागी भएका हुन् । वर्षातको कारण केही स्थानमा आइतबार छनोटसम्पन्न हुनेछ ।

सुनसरी जिल्ला फुटबल संघका प्रवक्ता कोविदजंग कार्कीका अनुसार फुटबलप्रतिको रुचि र खेलप्रतिको अभिभावकको सकारात्मक धारणाका कारण सहभागीको संख्या अघिल्लो वर्षभन्दा बढी भएको हो । सुनसरीलाई चारक्षेत्रमा बाँडेर सबैतिरबाट सहभागी हुन भन्ने उद्देश्यका साथ छनोट गरिएको संघका अध्यक्ष केशव कार्कीले बताए । उनका अनुसार जिल्लाबाट छनोट भएका १३ वर्षमुनिकाहरू प्रदेशमा छनोट भएपछि केन्द्रीय छनोटमा पुग्नेछन् । त्यहाँ पनि छनोट भएपछि उनीहरू एन्फा एकेडेमीमा आवासीय प्रशिक्षणमा रहनेछन् ।

त्यस्तै १६ वर्षमुनिकाहरूले पनि तीन चरण प्रदेश र केन्द्रको छनोट पार गरेपछि सोझै अन्डर १६ मा राष्ट्रिय टोलीबाट खेल्न पाउनेछन् । एन्फाले यस्तो छनोट देशभरिबाट गर्छ । एन्फा फुटबल प्रशिक्षक श्याम मानन्धरका अनुसार पहिलेभन्दा अहिले अभिभावकहरूको फुटबलप्रतिको सकारात्मक भावका कारण छनोटमा आउनेको संख्या बढेको बताए । बाबुआमाले नै घरमै खेल सामग्री किनिदिने र अभ्यास गर्ने वातावरण बनाइदिनाले पछिल्लोसमय खेलको स्तरमा बालबालिकामा निकै सुधार देखिएको बताए ।

मानन्धरले पहिला खेल खेलेर न दाम कमाउन सकिन्छ न नाम नै कमाउन सकिन्छ भन्ने पुरानो सोचमा परिवर्तन आएको बताए । अहिले फुटबल र क्रिकेट लगायतमा पनि भविष्य छ भन्ने भएपछि अभिभावकहरू आफैं खेलप्रति आफ्ना नानीहरूलाई अघि बढाउन उत्साहित भएको उनले खुलाए ।

स्रोत:कन्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *