उद्घाटनपूर्व १३ खेल

बाँके — आठौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन हुनुपूर्व एक दर्जन खेल सुरु भइसक्ने छ  । चैत २७ देखि विभिन्न जिल्लामा प्रतियोगिता सुरु हुनेछ  ।

प्रतियोगिताको उद्घाटन वैशाख ५ मा नेपालगन्ज रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ । विभिन्न १३ खेल उद्घाटनपूर्व सुरु हुनेछ । राष्ट्रिय खेलकुदमा हुने ३५ खेलमध्ये, खोखो, पुरुष क्रिकेट, पाराग्लाइडिङ, फेन्सिङ, महिला–पुरुष फुटबल, बास्केटबल, हक्की, सफ्ट टेनिस, सुटिङ, जुडो, टेबलटेनिस, बक्सिङ र ब्याडमिन्टन उद्घाटनपूर्व सुरु हुनेछ । पूर्वाधार नभएका कारण पाराग्लाइडिङ र गल्फ प्रदेश ५ भन्दा बाहिर आयोजना गरिने भएको छ ।

कास्कीमा पाराग्लाइडिङ र काठमाडौंमा गल्फ प्रतियोगिता गरिने आयोजक राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले बताए । उनका अनुसार प्रतियोगीतामा २ हजार ८ सय २५ पुरुष तथा २ हजार ३ सय ८६ महिला खेलाडी सहभागी हुने निश्चित भएको छ । उनीहरूले ३ सय ७२ स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछन् । राष्ट्रिय कीर्तिमान भंग गर्नेले २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । व्यक्तिगत स्पर्धामा स्वर्ण जित्नेले १५ हजार र सामूहिक स्वर्ण विजेताले ७ हजार रुपैयाँ पाउने छन् ।

यहाँ गर्मी बढिरहे पनि खेलमा समस्या नहुने सदस्य–सचिव विष्टको दाबी छ । बिहान ६ बजे र बेलुका ५ बजे खेल सुरु गरिने उनले सुनाए । ‘बेलुका र रातभर खेल्न सक्छौं,’ उनले भने, ‘त्यसैले लाइट जडान गर्दै छौं ।’ उनका अनुसार नेपालीले खाडी मुलुकमा समेत गएर खेलेका उदाहरण रहेको जनाउँदै गर्मीले असर नगर्ने बताए । उनका अनुसार गाडीमा आउनजान र बस्ने होटलमा राम्रो एसी व्यवस्था गरिएको र दिउँसो खेलाडीलाई आरामको व्यवस्था गरिने छ ।

स्रोत:कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *