‘चौर’ मा खेलाउने तयारी

दाङ — आठौं राष्ट्रिय खेलकुदलाई लक्षित गरी निर्माण थालिएको रंगशालाको काम समयमा सम्पन्न नहुँदा चौरमा खेल्नुपर्ने बाध्यता आएको छ । महिला फुटबल र एथलेटिक्स हुने बेलझुन्डी रंगशालामा अहिले पनि निर्माणको काम भइरहेको छ ।वैशाख ५ देखि खेल हुने तालिका सार्वजनिक भइसक्दा पनि रंगशालाको काम सकिएको छैन । काम नसकिएपछि घोराहीको भरतपुर चौरमा खेलाउने तयारी भएको हो ।

समयमा रंगशाला निर्माण नभएपछि भरतपुर मैदानमा खेल्ने तयारी भएको जिल्ला फुटबल संघका सचिव नरेन्द्र पुनले बताए । ‘अझै निर्माण भइरहेको छ । बन्नेबित्तिकै खेल्न मिल्दैन । त्यसैले भरतपुर मैदानमा खेल्ने कुरा भएको छ,’ उनले भने, ‘पहिले पनि खेलिरहेको मैदान भएकाले केही समस्या हुँदैन । सहजै खेल्न सकिन्छ । रंगशाला निर्माणमा ढिलाइ भएकाले वैकल्पिक व्यवस्था गरिएको हो ।’ राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडी भने उत्साहित भएको पुनले बताए ।

जिल्लामा पहिलोपटक खेल हुन थालेकाले सबैमा खुसियाली छाए पनि सबै व्यवस्थित नहुँदा केही निराशा आएको जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले बताए । ‘दाङमा समापन खेल हुने निर्णय भइसक्दा पनि रंगशाला तयार हुन नसकेका कारण स्थगित भयो । अहिले पनि रंगशाला तयार भइसकेको छैन,’ उनले भने, ‘यसले खेलाडीलाई केही चिन्तित बनाएको छ । समयमा काम नगर्दा तयार भएका खेलहरू पनि अरू ठाउँमा सार्नुपर्ने बाध्यता भएरहेको छ ।’

पर्याप्त बजेट नभएका कारण लमही क्रिकेट मैदानलाई पनि व्यवस्थित बनाउन नसकिएको उनले बताए । ‘खेलकुद परिषद्ले २० लाख बजेटमा सबै काम गर्न भन्यो । त्यतिमा सबै सम्भव भएन । पानीको व्यवस्था नहुँदा दुबोमा सिंचाइ गर्न समस्या भयो,’ उनले भने, ‘अझै पनि मैदान खेल्नलायक भएको छैन । तैपनि, त्यसैमा काम चलाउनुपर्ने भएको छ ।’ लमही क्रिकेट मैदानमा खेलाडीलाई आवश्यक सबै संरचना र दर्शक बस्ने प्यारापिट निर्माण हुन सकेका छैनन् । दुबो मर्न थालेको छ, मैदानमा धूलैधूलो छ । दर्शक बस्ने प्यारापिट छैन । खेलकुद परिषद्ले जिल्लामा लगानी कम गर्दा समस्या भएको उनले बताए ।विभिन्न अभाव र कठिनाइका बावजुद पनि पहिलोपटक घरेलु मैदानमा खेल्न पाइने भएकाले खेलाडी उत्साहित भएको मजगैयाले बताए ।

घोराहीमा प्रशिक्षण दिएर लमहीको मैदानमा खेलाउने तयारी भइरहेको उनले बताए । ‘खेलाडीहरू उत्साहित छन् । तयारी पनि राम्रो भइरहेको छ,’ उनले भने, ‘देशभरका खेलाडी जमघट हुने महत्त्वपूर्ण अवसर भएको छ ।’
राष्ट्रिय खेलकुदका कारण पहिलोपटक जिल्लामा रंगशाला व्यवस्थित बनाउने अवसर भने मिलेको छ । वर्षौंदेखि अलपत्र परेका खेलमैदान खेल्नलायक हुन थालेका छन् । हालसम्म मेला महोत्सव लगाउन प्रयोग भइरहेको लमहीस्थित क्रिकेट मैदानमा पहिलोपटक दुबो रोपिएको छ । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेट हुने लमहीको रंगशाला हतारहतार खेल्न मिल्ने बनाइएको छ । हतारमा काम गर्नुपरेकाले सबै रंगशाला समयमै व्यवस्थित गर्न नसकिएको जिल्ला खेलकुद विकास समिति अध्यक्ष डिल्ली डाँगीले बताए । ‘निर्माणमा ढिलाइ भयो । काम गर्दागर्दै सबै काम गर्न भ्याइएन,’ उनले भने, ‘सक्दो प्रयास गर्दा पनि सबै काम सकिएन ।’

कठिनाइका बावजुद खेल सम्पन्न गर्न रातदिन जुटेको डाँगीले बताए । ‘रंगशालाका बाँकी संरचना निरन्तर निर्माण भइरहन्छन् । अहिले आवश्यक पर्नेजति बनाउँदैछौं,’ उनले भने, ‘खेलमा कुनै समस्या हुँदैन । तोकिएकै समयमा सहज रूपमा खेल्न सकिने वातावरण बनाइरहेका छौं ।’ बेलझुन्डीको रंगशालाबाहेक अन्य सबै संरचना तयारी अवस्थामा रहेको उनले बताए ।

घोराही कभर्डहलमा बुधबारदेखि टेबुलटेनिस सुरु भएको छ । बिहीबारदेखि वैशाख ४ गतेसम्म पुरुष र महिला बास्केटबल हुँदैछ । घोराहीमै वैशाख १ देखि ब्याडमिन्टन हुँदैछ । बेलझुन्डीस्थित रंगशालामा वैशाख ५ देखि ११ गतेसम्म महिला फुटबल र वैशाख ५ देखि ११ गतेसम्म एथलेटिक्स हुने भनिएकामा रंगशाला तयार नभएकाले अरू ठाउँमा व्यवस्था मिलाइँदैछ । तुलसीफुरस्थित कराँते हलमा वैशाख ६ देखि ११ सम्म कराँते र लमही क्रिकेट मैदानमा वैशाख ५ देखि ११ गतेसम्म महिला त्रिकेट हुँदैछ ।

स्रोत:कन्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *