स्वर्णधारी अजितलाई सम्मान, मोटरसाइकल प्रदान, मासिक ६० हजार

काठमाडौँ — नेपाललाई एसियाली स्तरको एथलेटिक्समा पहिलो स्वर्ण पदक जिताउने अजितकुमार यादवलाई मंगलबारको सम्मानले अझ अगाडि बढ्न ठूलो बल प्रदान गरेको छ । अजितले १० दिनअघि हङकङमा तेस्रो एसियन युथ च्याम्पियनसिपमा भारत र यमनका खेलाडीलाई पछाडि पार्दै स्वर्ण जितेका थिए ।

उनले ८ मिनेट ३०.३२ सेकेन्डबाट स्वर्ण जितेर नेपाली एथलेटिक्समा तरंग ल्याएका थिए । सन् १९७३ मा जितबहादुर केसीले फिलिपिन्समा एसियन एथलेटिक्स च्याम्पियनसिपमा कांस्य पदक जितेयताको यो नेपालको पहिलो ठूलो पदक थियो । यसबीचमा नेपाली एथलेटिक्स खेलाडीले एसियालीस्तरमा कुनै पदक जित्न सकेका थिएनन् ।

अजितलाई सम्मानस्वरुप नेपाल एथलेटिक्स संघको तर्फबाट अध्यक्ष राजीवविक्रम शाहले १ सय २५ सीसीको टीभीएस मोटरसाइकल प्रदान गरे । उनका प्रशिक्षक धनीराम चौधरीलाई संघले १ लाख नगद दिने घोषणा गरेको थियो । प्रशिक्षक चौधरी दाइको निधनका कारण सम्मान कार्यक्रममा उपस्थित थिएनन् । कार्यक्रममा अजितलाई १० लाखभन्दा बढीको सम्मान घोषणा गरिएको छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मासहित विभिन्न कर्पोरेट क्षेक्रका व्यत्तित्व उपस्थित थिए । त्यहीं उनलाई कर्पोरेट हाउसहरूको तर्फबाट एक वर्षसम्म मासिक ६० हजार दिने घोषणा नबिल बैंकका सीईओ अनिल शाहले गरेका छन् । उनको प्रदर्शन हेरेर आगामी वर्षमा यसको नवीकरण हुने जनाउँदै बैंकर शाहले अजितको सफलतालाई सुरुआतको रूपमा लिनुपर्ने बताए ।

शाहसँगै गोल्छा अर्गनाइजेसनका प्रबन्ध निर्देशक शेखर गोल्छा, गोल्डस्टारकी विदुषी राणा, जावलाखेल ग्रुपका राज शाह, अन्नपूर्ण ग्रुप अफ होटलका सीईओ राजुविक्रम शाह आ–आफ्नो कम्पनीको तर्फबाट प्रतिमहिना मासिक १२ हजार उपलब्ध गराउन सहमत भएका हुन् । अन्नपूर्ण होटलले अजितलाई १ वर्षसम्म पौडी र जिमको निःशुल्क व्यवस्था गर्ने घोषणा पनि गरेको थियो ।

‘अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न धेरै धैर्य गरेको थिएँ । पहिलोपल्ट त्यो अवसर आउँदा धेरै खुसी भएँ । स्वर्ण पदक ल्याउँदा अचम्मै जस्तो लागिरहेको छ । एउटा पदक ल्याउँछु भन्ने थियो, स्वर्ण पदक नै भनेर आस गरेको थिइनँ । मलाई धनीराम गुरुले प्रशिक्षण दिइरहनुभएको थियो । उहाँले गर्दा नै म यो स्थितिसम्म आइपुगेको हुँ,’ अजितले भने, ‘बुवाआमाले धेरै दुःख गरेर हामीलाई पढाउनुभएको छ । हामीले अब त्यहीअनुसार गर्नुपर्छ । उहाँहरूको दुःख सम्झिने हो भने पनि ईख हुन्छ । अहिलेको यो सहयोगले मेरो परिवारलाई धेरै राहत पुग्छ। जेहोस् बुवाले अब आफ्नो तलबबाट मलाई डाइट खर्च दिनुपर्दैन होला ।’ एथलेटिक्स संघका अध्यक्ष शाहले निजी क्षेत्रबाट आफूले अझ ठूलो अपेक्षा राखेको बताए ।

मभन्दा पनि राम्रा खेलाडी छन् : अजित
स्वर्ण पदक ल्याउँदा अचम्मै लागिरहेको छ । एउटा पदक ल्याउँछु भन्ने थियो। स्वर्ण पदक नै भनेर आस गरेको थिइनँ । मलाई धनीराम गुरुले प्रशिक्षण दिइरहनुभएको थियो । उहाँले गर्दा नै म यो स्थितिसम्म आइपुगेको हुँ । अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न धेरै धैर्य गरेको थिएँ । पहिलोपल्ट त्यो अवसर आउँदा धेरै खुसी भएको थिएँ ।

भारतमा स्पोर्ट्स एकेडेमी नै हुन्छ । त्यहीं खाने, त्यहीं प्रशिक्षण गर्ने, त्यहीं सुत्ने लगायत विभिन्न वातावरण र व्यवस्था हुन्छ । नेपालमा त्यस्तो समस्या भएर खेलाडीले अहिलेसम्म राम्रो प्रदर्शन देखाउन नसकेको हो जस्तो लाग्छ । सरकारले विभिन्न स्थानमा रंगशाला र खेल्ने ठाउँ बनाई दिएर सुविधा दियो भने त राम्रा खेलाडी पक्कै निस्किन्छ । मभन्दा पनि राम्रा खेलाडी छन् । धेरै छन्, ठाउँ–ठाउँमा छन् । तिनीहरूलाई अवसर दिनुपर्‍यो ।

जित्दाखेरिको क्षण सपनाजस्तो भएकाले रुन मन लाग्ने थियो । गर्व लागेको थियो हामी नेपाली कमजोर छैनौ भन्नेमा । हामीलाई अवसर दिनुपर्छ, हामी गरेर देखाउँछौं । संघ र कर्पोरेट क्षेत्रले गरेको सहयोगले मेरो हौसला अझ उँचो बनाएको छ । म अझ नाम कमाउन चाहन्छु, देशका लागि खेल्न चाहन्छु । नेपालीहरू धेरै बलियो छ भनेर देशलाई चिनाउन चाहन्छु । सरकारले खेलाडीलाई सुविधा दिनुपर्‍यो । अहिलेसम्म एउटा अन्तर्राष्ट्रिय मैदान पनि बन्न नसक्दा दुःख लाग्छ ।

बुवाआमाले धेरै दुःख गरेर हामीलाई पढाउनुभएको छ । हामीले अब त्यहीअनुसार गर्नुपर्छ । उहाँहरूको दुःखलाई सम्झने हो भने पनि ईख हुन्छ । अहिलेको सहयोगले मेरो परिवारलाई धेरै ठूलो राहत हुन्छ। जेहोस् बुवाले अब आफ्नो तलबबाट मलाई डाइट खर्च दिनुपर्दैन होला ।

स्रोत:कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *