डन्डीबियो प्रतियोगिता हुँदै

नयाँ पुस्ताले बिर्सेको तथा नेपालको पुरानो खेल डन्डीबियो फागुन पहिलो साता यहाँ आयोजना गरिँदै छ । नेपाल स्काउट र नेपाल डन्डीबियो संंघको संंयुक्त आयोजनामा फागुन ५ देखि ७ सम्म धादिङबेंसीमा जिल्लास्तरीय डन्डीबियो प्रतियोगिता हुने भएको छ ।

जिल्लाका संस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थीले भाग लिन पाउने प्रतियोगिताको विजेताले ५० हजारसहित सिल्ड जित्नेछ । लोक खेलअन्तर्गत डन्डीबियोको संरक्षण र लोप हुन नदिन प्रतियोगिता गरिएको आयोजकले जनाएका छन् ।

आयोजकले प्रतियोगिता तयारीका लागी माघ १९ मा धादिङबेंसीमा डन्डीबियो खेलको प्रशिक्षणसमेत गराउने कार्यक्रम छ । प्रशिक्षणका लागी जिल्लाका माध्यमिक विद्यालयका एक जना खेल शिक्षक र एक जना सहभागी खेलाडीसहित दुई जनालाई प्रशिक्षण प्रतियोगितामा सहभागी हुने विद्यालयले माघ २५ भित्र जिल्ला स्काउट कार्यालयमा नाम दर्ता गराउनुपर्ने जिल्ला स्काउट कार्यालय धादिङका समन्वय आयुक्त शिवराज सापकोटाले बताए ।

दोस्रोले ३० , तेस्रोले २० हजार र सान्त्वना पुरस्कारका रूपमा १० हजार रुपैयाँ रहेको छ । डन्डीबियो दुई वा दुईभन्दा बढी खेलाडी मिलेर खेल्न सकिन्छ । दुई समूह बनाएर पनि खेल्ने गरिन्छ । यो खेल मैदान, चौर, आँगन वा बाँझो खेत जहाँ पनि खेल्न मिल्छ । परम्परागत रूपमा खेलिँदै आएको यो खेललाई नेपाल डन्डीबियो संघको स्थापना गरी नियमनसमेत गरिएको छ ।

परम्परागत रूपमा डन्डीबियो खेल्न सुरुमा बियोलाई जमिनमा बनाइएको करिब चार इन्च लामो र दुई इन्च गहिरो खाल्टो (खोपी) मा तेर्सो पारेर राखिन्छ । डन्डीबियोमा खेलाडी संख्या तथा मैदानको आकार निर्धारण गरिएको हँुदैन । यसरी खेल्दा खोपीदेखि बियोको अन्तिम स्थानको दुरी नाप्न आठ एकाई भएको गणना प्रयोग गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *