दुहबी गोल्डकपको उपाधि दाउफिन्सलाई

इटहरी — क्यामरुन टोली दाउफिन्सले तेस्रो मनमोहन दुहबी गोल्डकपको उपाधि जितेको छ । दुहबी रंगशालामा शनिबार भएको फाइनलमा दाउफिन्सले त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा ८–७ गोलअन्तरले पराजित गर्‍यो । उपाधिसँगै दाउफिन्सले ६ लाख रुपैयाँ हात पारेको छ । उपविजेता आर्मीको भागमा ३ लाख रुपैयाँ पर्‍यो ।

सडनडेथमा विकास खवासको प्रहार बाहिरिएपछि आर्मी उपाधिविहीन बन्न पुग्यो । निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । टाइब्रेकरमा समेत बराबरी भएपछि खेल सडनडेथमा गएको थियो । टाइब्रेकरमा आर्मीका भरत खवासले गरेको गोल विपक्षी गोलरक्षक प्रिसोले बचाउ गरे ।

दाउफिन्सका अनजोने जेआरले हानेको गोल पोस्ट बाहिर गयो । पेनाल्टी सुटआउट ४–४ को बराबरीपछि खेल सडनडेथमा पुगेको थियो । दाउफिन्सका प्रिसो, जो अन्जुला, बियिक बियिक, ओको बोटा, इकवेम, नीला, पेटेन्जा र कोनाले गोल गरे । आर्मीका दीपक गुरुङ, सुमन अर्याल, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, विवेक बस्नेत, नवयुग श्रेष्ठ र जितेन्द्र कार्कीले गोल गरे ।

दुहबी गोल्डपको पहिलो संस्करणको विजेता आर्मी गत वर्षसमेत मनाङ मर्स्याङ्दीसँग फाइनलमा पराजित भएको थियो । दाउफिन्स भने दुहबी गोल्डकपसँगै यस सिजन पाँचौं उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो ।

आर्मीका सन्तोष तामाङ सर्वोत्कृष्ट खेलाडी हुँदै नगद २५ हजार र सामसुङ ३२ इन्च एलईडी टीभी प्राप्त गरे । म्यान अफ द म्याच आर्मीका सुमन अर्याल घोषित हुँदै उनले १० हजार पाए । सर्वाधिक गोलकर्ता आर्मीकै टेकबहादुर बुढाथोकीले २० हजार प्राप्त गरे ।

उत्कृष्ट रक्षक आर्मीका विकास खवास, उदीयमान खेलाडी आयोजक एलेभेन एरोजका शंकर चौधरी, सर्वोत्कृष्ट गोलरक्षक दाउफिन्सका प्रिसो, सर्वोत्कृष्ट फरवार्ड आर्मीका भरत खवास, सर्वोत्कष्ट मिडफिल्डर दाउफिन्सका अनजोने जेआर र उत्कृष्ट प्रशिक्षक दाउफिन्सका वाम्बा घोषित हुँदै समान १५ हजार नगद प्राप्त गरे । दुहबी गोल्डकपमा दुई विदेशी टिमसहित ८ टिम सहभागी थिए ।

स्रोत:कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *