दीपेश सेमिफाइनलमा

काठमाडौँ — एपीएफका दीपेश धामीले १५ औं कृष्ण मोहन स्मृति राष्ट्रव्यापी खुला ब्याडमिन्टनअन्तर्गत तीनै विधाको सेमिफाइनलमा स्थान बनाएका छन् ।

दीपेशले मेन्स सिंगल्स, डबल्स र मिक्स डबल्समा अन्तिम चारको तय गरेका हुन् । उनले सिंगल्समा आफ्नै टिमका गौतमसिंह कठायतलाई २१–१४, २१–८ ले हराए । डबल्समा विजित थापा मगरसँग मिलेर विशाल प्रधान र विमल श्रेष्ठ (एपीएफ) को जोडीलाई २१–१३, २१–१९ ले पन्छाए । मिक्सतर्फ पूजा श्रेष्ठसँग मिलेर दीपेशले जेस्ट ब्याडमिन्टन एकेडेमीका अखिल श्रेष्ठ र डिना पुनलाई २१–१७, २१–७ ले पराजित गरेका थिए ।

सिंगल्सतर्फ आर्मीका प्रफुल महर्जन, सिल्क ग्रुपका प्रिन्स दाहाल र पुलिसका जीवन आचार्य सेमिफाइनल पुगेका छन् । प्रफुलले सुदीप सेढाईंलाई २१–१८, २१–११ ले, प्रिन्सले सुनील जोशीलाई २१–१५, २१–१९ ले र जीवनले साजनकृष्ण ताम्राकारलाई २१–१८, २१–१७ ले पराजित गरे । पराजित सबै एपीएफका हुन् ।

डबल्समा पुलिसका दीपक बोहरा र जीवन आचार्यले एपीएफका सुमन लिम्बु र जोसेफ अधिकारीको जोडीलाई २१–१२, २१–९ ले तथा एपीएफका सुदीप र साजनकृष्णको जोडीले सुनील जोशी र गौतमसिंह कठायतलाई २१–१८, २१–१८ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए । आर्मीका प्रफुल महर्जन र सुरोज महर्जनको जोडी पनि सेमिफाइनल पुगेको छ ।

मिक्स डबल्समा एपीएफका गौतम र सुनैना मुखिया, आर्मीका सुरोज महर्जन र अमिता गिरी तथा एपीएफका विजित र शोभा गौचनको जोडी पनि सेमिफाइनल पुगे ।

हल्चोकस्थित एपीएफको कभर्डहलमा वुमेन्स सिंगल्सतर्फ आर्मी खेलाडीको वर्चस्व रह्यो । अमिता गिरी, रशिला महर्जन र अनुमाया राई सेमिफाइनल पुगे । अमिताले मोरङकी सीमा राजवंशीलाई २१–१५, २१–१९ ले पराजित गर्दै एपीएफकी जेशिका गुरुङसँगको भेट पक्का गरिन् । जेशिकाले एपीएफकी शोभा गौचनलाई २१–८, २१–१४ ले हराइन् । रशिलाले रन्जना भट्टलाई २१–११, २१–१५ ले र अनुले सुनैना मुखियालाई २१–११, १४–२१, २१–१८ ले हराए ।

वुमेन्स डबल्सतर्फ आर्मीका अमिता र अञ्जना भट्टको जोडीले एपीएफका पूजा श्रेष्ठ र जेशिका गुरुङ तथा एपीएफका शोभा गौचन र सुनैना मुखियाको जोडीले आर्मीका अनुमाया राई र रशिला महर्जनको जोडीसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

यू–१७ ब्वाइजतर्फ प्रिन्स दाहाल अन्तिम चारमा पुगे । उनले महेन्द्रनगरका प्रकाश चन्दलाई २१–८, २१–१० ले हराएर एपीएफका प्रियांशु सिंहसँगको भेट पक्का गरे । प्रियांशुले धनगढीका अमृत चौधरीलाई २१–१७, २१–१२ ले हराए । एपीएफका पेम्बा शेर्पाले सेमिफाइनलमा आर्मीका दिवस शंकरसँगको भेट पक्का गरेका छन् । गर्ल्सतर्फ आर्मीका रशिला र रन्जनासहित मोरङका नीता लम्साल र सीमा राजवंशी सेमिफाइनलमा पुगेका छन् ।

टेनिस
एघारौं सहवीर स्मृति खुला लनटेनिसको ६५ वर्षमाथि भेट्रान्स फाइनलमा दीपक श्रेष्ठले ज्ञानेन्द्र ताम्राकारलाई ४–०, ४–० ले सेटमा पराजित उपाधि जितेका छन् । ५५ वर्षमाथिको फाइनलमा कृष्णराज घलेले कमल थापालाई ६–४, ६–१ ले हराए । ३५ वर्षमाथिको फाइनलमा राजु श्रेष्ठले महेश श्रेष्ठमाथि ६–४, ६–४ को सोझो सेटमा सफलता पाए ।४५ वर्षमाथि एकलतर्फ विमल गुरुङले गोपी भट्टराईलाई ६–२, ७–६ ले र चन्द्र शाहीले सिजर गुरुङलाई ६–१, ६–० ले पराजित गरी फाइनलमा स्थान बनाएका छन् ।पुरुष युगल इभानोई लिसानोविच र निकको जोडीले छेवाङ लामा र नवीन मगरलाई ६–४, ६–३ ले र कलम भण्डारी र प्रनव खनालको जोडीले अनिल शाही र प्रदीपखड्काको जोडीलाई ७–५, ६–४ ले पराजित गरी उपाधि भिडन्त पक्का गरेका छन् ।

भलिबल
सशस्त्र प्रहरी महानिरीक्षक छैटौं राष्ट्रिय खुला महिला भलिबलमा बुधबार आयोजक एपीएफ क्लबले ढोरपाटन ट्रेनिङ सेन्टरलाई २५–१, २५–१०, २५–२ ले र न्यु डायमन्ड एकेडेमीले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–१०, २५–५, २५–७ को सोझो सेटमा हराएर सेमिफाइनल तय गरेका छन् ।

स्रोत:कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *