दाउफिन्स उपाधि नजिक

इटहरी — क्यामरुनी टोली दाउफिन्स दुहबीमा जारी तेस्रो मनमोहन दुहबी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ  । दुहबी रंगशालामा बिहीबार दोस्रो सेमिफाइनलमा मेची नेत्रालय काँकडभिट्टा ट्रेनिङ सेन्टरलाई ३–० ले पराजित गर्दै दाउफिन्स उपाधि नजिक पुग्यो  ।

दाउफिन्स इटहरी गोल्डकपमा मेची नेत्रालयसँग टाइब्रेकरमा पराजित भएको थियो । उसले त्यसको बदला यहाँ लिएको छ । जितका लागि पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । खेलको १० औं मिनेटमा ओनजुने जेआरले गोल गरेका थिए । पेटेन्जाले ३२ औं मिनेटमा वान टच गोल थप्दै टोलीलाई अग्रता दिलाए । टिना टिनाले ३९ औं मिनेटमा गोलरक्षक किशोर गिरीलाई छक्याएर अर्को गोल गोल गरेका थिए ।

काँकडभिट्टाका अर्मान्डोले मिलाइदिएको पास आरब्रिमले हेड प्रहार गरेका थिए । तर पोस्ट नजिकबाट बाहिरिएको थियो । पहिलो हाफमा मेत्रीको खेल निकै फितलो देखियो । यद्यपि दोस्रो हाफमा भने उसले खेल सुधारेको थियो । कर्नर नजिकबाट मेचीका नीरज बस्नेतले मिलाइदिएको पासमा जिल्सम लिम्बुले प्रहार गरे पनि गोलरक्षक प्रिसोले पन्च गरेर बचाए । नीरजले हानेको फ्रिकिक प्रहार विपक्षी खेलाडीमा ठोक्किएर फर्किएको थियो । पहिलो हाफमा दाउफिन्सले झापाली टिमलाई निकै दबाबमा राखेको थियो । दाउफिन्सका पेटेन्जाले गरको प्रहार छिरिङ गुरुङले हेडमार्फत सुन्दर बचाउ गरे ।

दोस्रो हाफमा बक्स एरियामा छिरिङले प्रहार गर्नुपर्ने बल सुन्दर मौका गुम्यो । दाउफिन्सका मिसेकेको वान टच बल खेलाडी परिवर्तन गरिएको विपक्षी गोलरक्षक विकेश थापा मगरले बचाउ गरेका थिए । दाउफिन्सका टिम म्यानेजर आशिक थापा मगरले टिमले सोचेभन्दा राम्रो प्रदर्शन गरेको बताए । ‘काउन्टर एट्याकमा खेल्ने हाम्रो रणनीति सफल भयो । टिममा भरपर्दा स्ट्राइकर खेलाडी यानिक ओवाना घाइते थियो । यद्यपि जित निकाल्न सफल भयौं,’ उनले भने । इटहरी गोल्डकपमा पाएका हारको बदला लिन सकेको उनले बताए ।

‘मिडफिल्डमा हाम्रो कमजोरी देखियो । तर जित निकाल्न सफल भयौं,’ उनले भने । मेची नेत्रालयका प्रशिक्षक मीनबहादुर बस्नेतले पाएको अवसर सदुपयोग गर्न नसक्दा पराजित हुनुपरेको बताए । ‘पहिलो हाफमा गोलकिपरको सानो गल्तीका कारण गोल खान पुग्यौं । फरवार्डले राम्रो फिनिसिङ गर्न सकेन,’ उनले भने, ‘लगातार प्रतियोगिताहरूमा सहभागी भएको हुँदा खेलाडीले आराम लिन पाएका छैनन् ।’म्यान अफ द म्याच दाउफिन्सका ओनजुने जेआर घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । क्यामरुनी टोलीले शनिबार उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

स्रोत:कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *