प्रिन्सको दोहोरो जित

काठमाडौँ — एपीएफका दीपेश धामी र सिल्क ग्रुपका प्रिन्स दाहाल सोमबार १५ औं कृष्णमोहन स्मृति राष्ट्रव्यापी खुल्ला ब्याडमिन्डनको प्रिक्वाटरफाइनलमा पुगेका छन् ।

पुरुष एकलतर्फ दीपेशले म्याग्दीका विजय बानियाँलाई २१–८, २१–८ को सेटमा हराए । दुबई अन्तर्राष्ट्रिय जुनियरका स्वर्णधारी प्रिन्सले एपीएफका इन्द्र महतालाई कठिन प्रतिस्पर्धामा २१–१२, २१– १० को सोझो सेटमा पराजित गरे । उनले युगलतर्फ पनि जित पाए ।

पेम्बा शेर्पा, गौतमसिंह कठायत, सुदीप सेढाईं, निरञ्जन देवकोटा, विजित थापा मगर, सुनील जोशी, निरविक्रम देवकोटा र साजनकृष्ण ताम्राकार पनि प्रिक्वाटरमा पुगेका छन् । हल्चोकस्थित एपीएफको कभर्डहलमा आर्मीका प्रफुल महर्जन, दिवस शंकर र रुकेश महर्जन, पुलिसका दीपक बोहरा, विष्णु कटुवाल र जीवन आचार्य प्रिक्वाटरमा पुगे ।

पुरुष युगलतर्फ प्रिन्स दाहाल अन्तिम १६ मा पुगे । प्रिन्सले एपीएफका निरविक्रमसँग मिलेर ललितपुरका मनीष बज्राचार्य र रुकेश शाक्यको जोडीलाई २१–११, २१–९ ले हराए ।

एपीएफका दीपेश र विजित थापामगरको जोडी पनि वाई पाएर प्रिक्वाटरफाइनलमा पुगेको छ । आर्मीका रुकेश महर्जन र पविन लिनथेप तथा प्रफुल महर्जन र सुरोज महर्जनको जोडीले पनि सफलता पाए ।

पुरुष युगलतर्फ मनोज डगौरा र विजय बानियाँले निशेषराज शाक्य र सुजित महर्जनलाई २१–१३, २१–१३ ले, एपीएफका विशाल प्रधान र विमल श्रेष्ठको जोडीले धादिङका मोहन गुरुङ र रुपक श्रेष्ठलाई २१–९, २१–१० ले तथा एपीएफका पेम्बा शेर्पा र प्रियांशुसिंह क्षेत्रीले जेष्ठका राम बानियाँ र सुजन थापाको जोडीलाई २१–१७, १८–२१, २१–१९ ले हराए ।

टेनिस
एघारौं सहवीर स्मृति खुला लनटेनिस प्रतियोगिताको महिला एकलतर्फ भगवती बिकले इन्द्रकला श्रेष्ठलाई ६–२, ६–३ ले पराजित गर्दै सेमिफाइनल सुरक्षित गरेकी छन् ।पुरुष एकलतर्फ कमल भण्डारीले छेवाङ लामालाई ६–०, ६–१ ले, प्रनव खनालले गौरवप्रताप शाहीलाई ६–०, ६–१ ले, सम्यक बज्राचार्यले पल मार्टिन सोललाई ५–७, ६–४, ६–३ ले, जितेन्द्र परियारले रामबहादुर रोक्कालाई ६–०, ६–० ले, अनिल शाहीले नवीन मगरलाई ६–१, ३–६, ६–१ ले, इभानोई लिसानोविचले प्रदीप खडालाई ६–२, ६–३ ले तथा सन्तोष खत्रीले मनोज महर्जनलाई ६–०, ६–० ले पराजित गर्दै क्वाटरफाइनल सुरक्षित गरेका छन् । इन्टरगर्भमेन्टल सर्भिस इभेन्टतर्फ केशर गुरुङले किरणजंग कुँवरलाई ६–२, ६–० ले र चन्द्र थापाले देव क्षेत्रीलाई ६–१, ६–२ ले हराएर सेमिफाइनल तग गरेका छन् ।

भलिबल
सशस्त्र प्रहरी महानिरीक्षक छैटौं राष्ट्रिय खुला महिला भलिबलमा सोमबार नेपाल एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई २५–१७, २५–१३, २५–२० को सोझो सेट र न्यु डायमन्ड एकेडेमीले नेपाल पुलिस क्लबलाई २५–२३, १४–२५, २५–१५, २५–१५ ले हराए ।

स्रोत:कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *