प्रदेश ३ लाई उपाधि

काठमाडौँ — प्रदेश ३ ले यू-१६ स्कुल क्रिकेट प्रतियोगिता जितेको छ । प्रदेश ३ ले सोमबार भएको फाइनलमा प्रदेश ५ लाई ३३ रनले पराजित गर्‍यो ।  त्रिवि क्रिकेट मैदानमा टस जितेको प्रदेश ३ ले अभिषेक उपाध्यायको अर्धशतक र प्रशान्त महतको उल्लेखनीय योगदानमा ३० ओभरमा ५ विकेट गुमाई १ सय ६२ रन बनायो । जवाफमा प्रदेश ५ ले ३० ओभरमा ८ विकेट गुमाई १ सय ३९ रन मात्र बनाउन सक्यो । 

विजयी टोलीका खेलाडीहरुले एक लाख ५० हजार बराबरको क्रिकेट किट हात पार्‍यो । उपविजेता प्रदेश ५ ले ७५ हजार बराबरको क्रिकेट किट हात पार्‍यो । उत्कृष्ट खेलाडी प्रदेश ५ का विशालविक्रम केसी घोषित भए । उत्कृष्ट ब्याट्सम्यान प्रदेश ३ का आइस भट्टराई र उत्कृष्ट बलर प्रदेश ५ का रमेश कुर्मी घोषित भए । प्रदेश ४ का अर्जुन कुमालले इमर्जिङ प्लेयरको उपाधि हात पारे ।

फाइनलमा प्रदेश ५ ले ३१ रनमै तीन विकेट गुमाईसकेको थियो । विशालले आकर्षक इनिङ्स खेल्दै अमर मिश्रसँग चौथो विकेटमा ६१ रनको साझेदारी गर्दै टिमलाई खेलमा फर्काए । कृस कार्कीको बलमा विशाल आउट भएपछि प्रदेश ५ को इनिङ्स लगभग समाप्त भएको थियो । विशालले ४६ बलमा ६ चौका प्रहार गर्दै ४४ र अमरले २९ रन बनाउने क्रममा दुई चौका र एक छक्का प्रहार गरे । उनले ४४ बल खेलेका थिए । प्रदेश ३ का विवेक दराई र दिपक बोहोराले २-२ तथा सकृय कार्की र तिलक भण्डारीले १-१ विकेट लिए ।

यसअघि समान शुरुवात रहेको प्रदेश ३ ले पहिलो तीन विकेट ३७ रनमै गुमाएको थियो । अभिषेकले चौथो विकेटमा कप्तान दिपकसँग ५८ रनको साझेदारी गर्दै टिमलाई सम्हाले । दुई चौका प्रहार गरेका अभिषेकले ७१ बलमा ५६ रन बनाए । दिपक र प्रशान्तले पाचौं विकेटमा ५५ रनको महत्वपूर्ण साझेदारी गरे । प्रशान्तले ३२ बलमा १ चौका र १ छक्का प्रहार गर्दै अविजित ३४ रन बनाए । दिपकले ३९ बलमा चार चौका प्रहार गर्दै ३० रन जोडे । रमेश र सुरज खडाले २-२ विकेट लिए ।

युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको प्रतियोगिता आगामी अप्रिल १८ देखि २९ सम्म थाइल्याण्डको च्याङ माइमा हुने एसीसी यू-१६ इस्टर्न रिजन टुर्नामेन्टको छनोटको रुपमा रहेको थियो । नेपाली टोलीको प्रशिक्षकको रुपमा बसन्त शाही ठकुरी र मन्जुर आलम खान छन् ।

स्रोत:कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *