यू–१६ स्कुल क्रिकेट : प्रदेश ३ र ५ फाइनलमा

काठमाडौँ — प्रदेश ३ र प्रदेश ५ यू–१६ क्रिकेट लिगको उपाधिका लागि भिड्ने भएका छन् । प्रदेश ३ ले आइतबार सेमिफाइनलमा प्रदेश २ लाई १५ रनले र प्रदेश ५ ले प्रदेश ७ लाई ६ विकेटले पराजित गरे । 

क्रिवि त्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको प्रदेश ३ ले २९ ओभरमा अलआउट हुँदै १ सय ५४ रन जोड्यो । ओपनर आइस भट्टराईले ७७ रन जोडे । म्यान अफ द म्याच उनले ६६ बलको सामना गर्दै ८ चौका र २ छक्का प्रहार गरे । कप्तान दीपक बोहरा १०, प्रशान्त कामत १३, अशोक पौडेल १२ तथा कृष कार्कीले २ छक्कासहित १६ रन योगदान दिए । प्रदेश २ का निखिलकुमार सिंहले ३, इमरान शेख र विशाल पटेलले २–२ तथा प्रशान्त सिंह र अरबाज अन्सारीले १–१ विकेट लिए ।

२८.५ ओभर खेलेको प्रदेश २ ले १ सय ३९ रनमात्र जोड्न सक्यो । वीरेन्द्र सहानी १३, रोहण विक २० र पर्शुराम यादव ३१ रनमा आउट भए । प्रशान्त सिंहले १० बलमा १ चौका र २ छक्का प्रहार गर्दै २२ रन जोडे । प्रदेश ३ का सक्रिय कार्कीले ३, तिलक भण्डारी र दीपक बोहराले २–२ तथा सीमान्त घिमिरे र विवेक दराईले १–१ विकेट लिए ।

वर्षाका कारण २२ ओभरमा छोट्याइएको अर्को सेमिफाइनलमा टस जितेको प्रदेश ७ भने १८.५ ओभरमा ७७ रनमै अलआउट भयो । राहुल भण्डारीले १९ र कप्तान सुवास ऐरले १८ रनबाहेक अन्यले उल्लेख्य योगदान दिन सकेनन् । प्रदेश ५ का विशालले र रमेश कुर्मीले ३–३ तथा सुरज खड्काले २ विकेट लिए । प्रदेश ५ ले १९.२ ओभरमा लक्ष्य पूरा गर्‍यो । कप्तान विशाल २१ रनमा नटआउट रहे । ओपनर सुशान्त थापाले २२, अमर मिश्राले ११ र प्रकाश गिरीले १० रन जोडे । प्रदेश ७ का कप्तान सुवासले ५ ओभरमा २ मेडनसहित ६ रन खर्चेर ३ विकेट लिएका थिए ।
सोमबार टीयू मैदानमा बिहान ९ बजे उपाधि भिडन्त हुँदैछ । चैत १९ देखि चलेको प्रतियोगितामा ७ प्रदेशका टोलीले सहभागिता जनाएका थिए । अप्रिल १८ देखि २९ सम्म थाइल्यान्डमा हुन लागेको एसीसी यू–१६ इस्टर्न रिजनका लागि यसै प्रतियोगिताबाट खेलाडी छनोट गरिनेछ । प्रारम्भिक छनोटमा २५ खेलाडी र त्यसपछि १४ खेलाडी अन्तिम टोलीमा छनोट हुनेछन् ।

स्रोत:कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *