महिला भलिबल र आर्चरी बर्दियामा नहुने

बर्दिया — सदरमुकाम गुलरियामा हुने भनिएको आठौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला भलिबल यहाँ नहुने भएको छ । सदरमुकाम गुलरियामा आउने झन्डै ६ सय खेलाडीका लागि बस्ने होटल अभावमा प्रतियोगिता नहुने भएको हो ।
सबै तयारी पूरा भए पनि अन्तिम चरणमा आएर आवासको कारण देखाउँदै महिला भलिबल यहाँ नहुने निश्चित भएको हो ।

ठाकुरबाबामा हुने तय भएको आर्चरी पनि फिल्डको मापदण्ड नपुगेपछि नहुने खेलकुद विकास समितिका सचिव महेश चन्दले बताए । ‘दुवै खेल अब नेपालगन्जमा हुनेछ,’ उनले भने, ‘सुविधायुक्त होटल र मैदान अभावले दुवै प्रतियोगिता सार्नुपरेको हो ।’
मुलुकका झन्डै ६ सय खेलाडीका लागि बस्न गुलरियामा स्तरीय होटल छैनन् । खेलकुद विकास समिति जिल्लामा एथलेटिक्स, कबड्डी, हक्की, आर्चरी, खोखो र सेपाकटाक्रो खेल हुने भन्दै तयारीमा जुटेको थियो । सेपाकटाक्रो, कबड्डी र खोखो जिल्लामै हुनेछ । बाँसगढीमा हुने कबड्डीका लागि सबै तयारी पूरा भएको छ ।

भुरीगाउॅमा खोखो र गुलरियामा सेपाकटाक्रो खेलका लागि सबै तयारी पूरा भएको समितिले जनाएको छ । समितिका सचिव चन्दले गुलरियास्थित तुलापुरमा सेपाकटाक्रोका लागि शतप्रतिशत संरचना तयार भएको दाबी गरेका छन् । एथलेटिक्सका लागि ट्र्याकसमेत निर्माण भएको छ । भुरीगाउँमा खोखोका लागि ९५ प्रतिशत काम सकिएको छ ।

भुरीगाउॅ र बाँसगढीमा पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको समितिका अध्यक्ष खगेन्द्र खनालले बताए । ‘उधारोमा युद्धस्तरमा संरचनाको काम अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘राष्ट्रिय खेलकुदका लागि केन्द्रबाट चाँडै बजेट निकासा हुने आश्वासन पाएका छौं ।’

प्रतियोगिता गर्न ढिलाइ हुँदा गर्मी बढ्ने र ४० डिग्रीमाथिको तापक्रममा खेल्न खेलाडीलाई समस्या हुने जिल्ला फुटबल संघका अध्यक्ष अजितराज भण्डारीले बताए । गुलरियामा सुविधासम्पन्न बहुउद्देश्यीय कभर्डहल निर्माण सुरु भएको छ । करिब ८५ लाख लागतमा उक्त कभर्डहलको काम ७५ प्रतिशत सम्पन्न भएको छ ।

केन्द्रले १० लाख र प्रदेश सरकारले ७५ लाख रकम बजेट विनियोजन गरेका छन् । कबड्डीका लागि बाँसगढीमा निर्माण हुन लागेको कभर्डहलका लागि बजेट अपुग छ । बहुउद्देश्यीय उक्त कभर्डहल १ करोड ७५ लाख रुपैयाँमा निर्माण सम्पन्न भइरहेको छ ।

स्रोत:कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *