Featured News

धनगढी प्रिमियर लिग अक्सन : रूपन्देही आक्रामक, महेन्द्रनगर बलियो
धनगढी प्रिमियर लिग अक्सन : रूपन्देही आक्रामक, महेन्द्रनगर बलियो

डीपीएल

आरिफ शेख, ललितसिंह भण्डारी, विनोद भण्डारी, पवन सर्राफ, भीम सार्की र ललितनारायण राजवंशीले रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) ट्वान्टी–२० क्रिकेटको अक्सनमा सर्वाधिक २ लाख ५० हजार रुपैयाँ मूल्य पाएका छन् । 



डीपीएलको तेस्रो संस्करण माघ २६ देखि धनगढीको फाप्ला मैदानमा हुनेछ । यसअघिका दुवै संस्करण टिम चौराह धनगढीले जितेको थियो । टिम चौराहले नयाँ स्वामित्व पाएपछि धनगढी स्टार्सको नामबाट डीपीएलको तेस्रो संस्करण खेल्दै छ ।



धनगढीले पवन सर्राफलाई अधिकतम भाउ लगाएर लिएको हो । खेलाडीले आफ्नो भाउ न्युनतम ३० हजार राख्न पाउने र अधिकतम २ लाख ५० हजारसम्म उनीहरूलाई फ्रेन्चाइज टोलीले भाउ लगाउन पाउने प्रावधान थियो ।



डीपीएलका लागि आवेदन दिएका २ सय ५ खेलाडीमध्ये १ सय ९९ खेलाडी अक्सनमा उपलब्ध थिए । रणनीतिक खेलाडीलाई फ्रेन्चाइज टोलीले अक्सनअगावै लिएको थियो ।



जसअनुसार विराटनगर किंग्सले करण केसी, सीवाईसी अत्तरियाले दीपेन्द्रसिंह ऐरी, धनगढी स्टार्सले सोमपाल कामी, काठमाडौं गोल्डेन्सले ज्ञानेन्द्र मल्ल, महेन्द्रनगर युनाइटेडले शरद भेषावकर र रूपन्देही च्यालेन्जर्सले वसन्त रेग्मीलाई रणनीतिक खेलाडीको रूपमा लिएका थिए । उनीहरूले कम्तीमा तीन लाख रुपैयाँ पाउने प्रावधान छ ।



अक्सनमा सर्वाधिक भाउ पाएका ६ मध्येका तीन खेलाडी रूपन्देही च्यालेन्जर्सले लियो । उसले पूरा रकम खर्चेर ललितसिंह भण्डारी, विनोद भण्डारी र भीम सार्कीलाई लिएको थियो । भीमलाई रूपन्देहीले अन्तिममा लिएको हो ।



उनको नाम अक्सनको सूचीमा आउनु अगाडि रूपन्देहीको खातामा ५ हजारमात्र बाँकी थियो । रूपन्देहीले भीमलाई २लाख ४५ हजार रुपैयाँको २५ प्रतिशत पेनाल्टी तिर्दै लिएको छ ।



अक्सनमा एउटा फ्रेन्चाइज टोलीले कम्तीमा १० र बढीमा १२ लाख खर्च गर्नुपर्ने थियो । अक्सनबाट एउटा टोलीले ११ खेलाडी लिनुपर्ने अवस्थामा रूपन्देहीको १० खेलाडी खरिदमै ११ लाख ९५ हजार सिध्याएको थियो । १ रणनीतिक, १ टयालेन्ट हन्ट तथा २ विदेशी खेलाडी गरी कुल १५ खेलाडी एउटा टोलीमा हुनेछन् । विदेशी खेलाडी फ्रेन्चाइज टोलीले आफैं राख्न पाउने छ ।



प्रदीप ऐरीलाई २ लाख ४० हजार खर्चिएको रूपन्देहीले ४ खेलाडीलाई मात्र ९ लाख ९० हजार खर्च गर्‍यो । त्यसपछि टोलीले सन्दीप सुनार, कृष्ण कार्की र विक्रम सोबलाई पनि थपेको हो । ‘योजनाअनुसार नै हामीले चाहेका खेलाडीहरू पायौं । हाम्रो टिम सन्तुलित बनेको छ र टिम व्यवस्थापन,प्रशिक्षक र म सबै खुसी छौं,’ फ्रेन्चाइज क्रिकेटमा पहिलोपल्ट गृहनगरको टोलीबाट खेल्न लागेका वसन्त रेग्मीले भने ।



आफूले खेलेको हरेक फ्रेन्चाइज क्रिकेटको फाइनल खेल्दै आएका शरद भेषावकर अक्सनमा पुन: एकपल्ट अब्बल बने । उनको महेन्द्रनगर युनाइटेडले आरिफलाई २ लाख ५० हजार भाउ लगाएर गोलाप्रथाबाट लिएको थियो ।



टोलीले रोहितकुमार पौडेललाई २ लाख ३० हजार, अविनाश बोहरालाई १ लाख ७० हजार, अमरसिंह राउटेलालाई १ लाख २० हजार, सागर ढकाललाई १ लाख र सिद्धान्त लोहनीलाई ७० हजार भाउ लगाउँदै लियो ।



‘जस्तो टिम बनेको छ, त्यसबाट पूर्ण सन्तुष्ट छु । युवा खेलाडीलाई हामीले विश्वास छौं, जो अघिल्ला प्रतियोगिताहरूमा पनि लयमा थिए । हाम्रो सन्तुलित टोली छ,’ महेन्द्रनगरका रणनीतिक खेलाडी शरदले भने । महेन्द्रनगरले ११ लाख ८५ हजार खर्च गरेको थियो ।



रूपन्देहीले जरिवानाबाहेक नै १४ लाख ४५ हजार खर्च गरेको थियो । जरिवाना तिर्नेमा विराटनगर र अत्तरिया पनि थिए । यी दुई अक्सनमा ११ खेलाडीलाई कम्तीमा १० लाख खर्च नगरेकोमा दण्डित हुन पुगेका थिए ।



विराटनगरले ९ लाख ९० हजार र अत्तरियाले ९ लाखमात्र खर्च गर्न सकेको थियो । विराटनगरले आशिफ शेखलाई १ लाख ८० हजार, कुशल भूर्तेललाई १ लाख ६० हजार, पृथु बाँस्कोटालाई १ लाख २० हजार तथा किशोर महतो र सुसन भारीलाई समान १ लाख तथा हरिशंकर शाहलाई ९० हजार, राजेश पुलामी मगर र सम्शाद शेखलाई समान ७५ हजारमा लिएको छ ।



‘योजनाअनुसार नै हामीले आवश्यक खेलाडी पायौं । अधिकतम बोलीपछि गोलाप्रथाबाट खेलाडी छनोट हुँदा २–३ जनालाई गुमाउनुपर्‍यो । यद्यपि टिम सन्तुलित छ,’ विराटनगरका रणनीतिक खेलाडी करणले भने ।



अत्तरियाले सन्दीप जोरालाई २ लाख ३० हजार, भुवन कार्कीलाई २ लाख १० हजार, कमलसिंह ऐरीलाई ९० हजार तथा रामनरेश गिरी र जितेन्द्रसिंह ठकुरीलाई समान ७५ हजारमा लिएको छ । टोलीका रणनीतिक खेलाडी दीपेन्द्रसिंह ऐरी हाल अस्ट्रेलियामा रहेका कारण अक्सनमा थिएनन् ।



‘हामीलाई केही भाग्यले साथ नदिएजस्तो भयो । हामीले अधिकतम बोली लगाएका खेलाडीमा अन्य टिमबाट पनि बोली लाग्यो । गोलाप्रथामा हामी अभागीजस्तै भयौं । यद्यपि युवा खेलाडीले भरिएको टिम बनेको छ । टिम सन्तुलित नै छ,’ टोलीका व्यवस्थापक रजतजंगशाहीले भने ।



धनगढीले युवा स्टार पवनसँगै अमित श्रेष्ठ र सुनील धमलालाई समान १ लाख ८० हजार, सौरभ खनाललाई १ लाख ६० हजार, विपिन खत्री र हरिबहादुर चौहानलाई समान ९५ हजार, दीपेश श्रेष्ठलाई ८० हजार र राजु रिजालमाथि ७५ हजार भाउ लगाउँदै लियो ।



धनगढीले १२ लाखभन्दा बढी खर्च गरेकाले टोली जरिवानाको भागिदार बन्न पुग्यो । त्यसका बाबजुत उत्कृष्ट टोली बनेकोमा रणनीतिक खेलाडी सोमपाल सन्तुष्ट थिए । उनले भने, ‘टिम राम्रो बनेकोमा खुसी छु । टिममा एक–से–एकखेलाडी छन् जसको एक्लो प्रयासले खेलको नजिता हेरफेर हुनसक्छ । अघिल्लो संस्करणको च्याम्पियन हुनुका नाताले उपाधि रक्षालाई हामी तयार छौं,’ सोमपालले भने ।



अक्सनमा जरिवाना नतिर्ने दुईमध्येको टोली काठमाडौं गोल्डेन्स थियो । ललितनारायण राजवंशीलाई गोल्डेन्सले २ लाख ५० हजारमा लियो । टोलीले रशिद खान र अनिलकुमार शाहलाई समान १ लाख ७० हजार, विक्रम भुसाललाई १ लाख ६० हजार, योगेन्द्रसिंह कार्कीलाई ७० हजार, सोनु तामाङलाई ६५ हजारमा लिएको हो ।



‘सबैले अक्सनको सुरुआतमा राम्रो प्रतिस्पर्धा गर्नुभयो । पछि बजेटको सीमामा रहनुपर्‍यो । हाम्रो टिम ब्याटिङ र बलिङ दुवैमा राम्रो बनेको छ । युवा खेलाडीको सन्तुलित टिम छ,’ गोल्डेन्सका रणनीतिक खेलाडी ज्ञानेन्द्रले भने ।



जरिवानाबाहेक अक्सनमा ६ फ्रेन्चाइज टोलीले ६८ लाख ३५ हजार खर्च गरेका थिए । अक्सनलाई ‘ओपन क्याटगोरी’ बनाइएको थियो । खेलाडीले आफ्नो न्युनतम पारिश्रमिक आफैं तोकेका थिए, त्यसैमा फ्रेन्चाइज टोलीले भाउ लगाएका थिए ।



टयालेन्ट हन्टबाट छानिएका सुदूरपश्चिमका १२ खेलाडीमाथि भाउ लगाइएको थियो । प्रत्येक फ्रेन्चाइज टोलीले १–१ गरी टयालेन्ट हन्टबाट आएका ६ खेलाडीलाई जनही ३० हजारका दरले लिएका थिए ।



राष्ट्रिय टोलीका कप्तान पारस खड्कापारिवारिक कारण, सन्दीप लामिछाने अन्तर्राष्ट्रिय लिगको व्यस्तताका कारण र सागर पुनले घाइते भएका कारण डीपीएलमा खेल्ने छैनन् । सुवास खकुरेल र नरेश बुढाएरले पनि अक्सनमा नाम लेखाएका थिएनन् ।



स्रोत : कान्तिपुर



Other News

‘कुनै आश्चर्य छैन’
  January 21st, 2019
‘कुनै आश्चर्य छैन’
वुमन्स ट्वान्टी–२० स्म्यास क्रिकेट read more
आर्मीको रोमाञ्चक जित
  January 21st, 2019
थ्री–स्टार उपाधिनजिक
  January 17th, 2019
झापा ११ विजयी
  January 16th, 2019
झापा ११ विजयी
विशाल गोल्डकप read more
समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा
  January 16th, 2019
समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा
वुमन्स ट्वान्टी–२० स्म्यास क्रिकेट read more