कान्तिपुर

"/> सकियो ए डिभिजन लिग, च्याम्पियनलाई अन्तिम गाँसमा ढुंगा | Nepal Sports | Leading Sports Portal in Nepal

Featured News

सकियो ए डिभिजन लिग, च्याम्पियनलाई अन्तिम गाँसमा ढुंगा
सकियो ए डिभिजन लिग, च्याम्पियनलाई अन्तिम गाँसमा ढुंगा

ए डिभिजन लिग

अन्तिम खेलमा फ्रेन्ड्स क्लबसँग पराजित भएपछि सहिद स्मारक ए डिभिजन लिगमा शतप्रतिशत जितसाथ कीर्तिमान बनाउने मनाङ मस्र्याङदी क्लबको लक्ष्य पूरा हुन सकेन । ए डिभिजन लिगको कीर्तिमानी ट्रफी उचाल्नुअघिको हार मनाङका लागि खल्लो बन्यो । 



यद्यपि लिगमा लगातार ११ खेलमा जित निकालेपछि मनाङ दुई खेलअगावै च्याम्पियन भइसकेको थियो । कीर्तिमान राख्ने लक्ष्य पूरा गर्न जित्नैपर्ने खेलमा फ्रेन्ड्सविरुद्ध अघिकांश समय बल नियन्त्रणमा लिए पनि मनाङले गोल गर्न सकेन ।



खेलको इन्ज्युरी समयमा अनिल महर्जनको फ्रिकिकमा वैकल्पिक खेलाडी विकास लामाले नजिकको दूरीबाट उत्कृष्ट हेड गोल गरे । ८० औं मिनेटमा फोफाना ब्राहिम्यानलाई प्रतिस्थापन गरेका विकासको गोलले मनाङको लिगमा अपराजित यात्रा पनि टुंग्याएको थियो ।



पाँच वर्षपछि यसपालि आयोजित लिगमा रेलिगेसन व्यवस्था थिएन । तर पुछारका दुई टोलीको कारबाहीस्वरुप अर्को सिजन क्रमश: २ र १ अंक घटाइने छ भने तयारी खर्चवापतको अन्तिम किस्ता पनि खोसिनेछ ।



मंगलबार नै हल्चोक मैदानमा ब्रिगेड ब्वाइजसँग गोलरहित बराबरी खेले पनि एनआरटी १४ टोलीसम्मिलित लिगको अन्तिममा रह्यो । उसको छिमेकी क्लब मछिन्द्र १३ औं स्थानमा रह्यो । दुवैको समान ७ अंक भए पनि गोल अन्तरको आधारमा एनआरटी अन्तिममा परेको हो । अर्को सिजनको लिगमा मछिन्द्रलाई १ र एनआरटीलाई २ अंकको कारबाही हुनेछ । मछिन्द्रलाई तयारी खर्चवापतको २ लाख र एनआरटीलाई ३ लाख रुपैयाँ कारबाही गरिने छ ।



शतप्रतिशत जित निकाल्ने योजनामा धक्का लागेपछि निराश देखिएका मनाङका प्रशिक्षक सुमन श्रेष्ठले सोच्दै नसोचेको परिणामले लिग उपाधि खल्लो भएको प्रतिक्रिया दिए ।



‘तर पूरै सिजनभर हामीले राम्रो खेल्यौं र आठौंपल्ट लिग जित्न सफल भयौं । सिक्किमको गभर्नर्स गोल्डकपसमेत गरी हामीले १६ औं खेलमा पहिलोपल्ट हारेका हौं,’ मनाङसँग सम्झौता चार महिना बाँकी रहेका प्रशिक्षक सुमनले भने, ‘हामी नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप खेल्न जान्छौं । अबको तयारी त्यसैका लागि हुनेछ । एएफसी कपका लागि हाम्रोसामु धेरै चुनौती छन् । सुधार गर्नुपर्छ ।’



प्रशिक्षक श्रेष्ठले फ्रेन्ड्सविरुद्ध खेलाडीहरू बढी आत्मविश्वासी देखिएकाले पनि अप्रत्यासित नतिजा बेहोर्नुपरेको बताए । नियमित खेलाडी मोहम्मद युसुफ दोहोरो पहेँलो कार्डको प्रतिबन्धमा रहँदा मनाङको रक्षापंक्ति खस्किएको थियो । सुजल श्रेष्ठलाई पनि प्रशिक्षक श्रेष्ठले बेन्चमा राखे ।



अर्का विदेशी एडेलाजा सिमोदी २१ औं मिनेटमा चोटग्रस्त बनेपछि विमल रानाले उनलाई प्रतिस्थापन गरेका थिए । ‘पहिलो हाफमा हाम्रो तालमेल बन्न सकेन, दोस्रो हाफमा हामीले पूरै समय बल नियन्त्रणमा राख्यौं तर गोल गर्न सकेनौं । अन्तिममा गोल खान पुग्यौं,’ लिगका उत्कृष्ट प्रशिक्षकको अवार्ड थाप्नु अघि श्रेष्ठले भने, ‘फ्रेन्ड्सले बिना दबाब खेल्यो । हामी जित्नैपर्ने योजनामा भए पनि खेलाडी बढी आत्मविश्वासी देखिए ।’



मनाङले उपाधिसँगै ५० लाख रुपैयाँ नगद पुरस्कार जित्यो । अघिल्लो संस्करणमा भन्दा पुरस्कार राशि कम गरिए पनि क्लबहरूलाई तयारी खर्च र हरेक जितपछिको बोनस रकमको व्यवस्था गरिएको थियो । क्लबलाई एन्फाले तयारीका लागि २० लाख उपलब्ध गराएको थियो । त्यस्तै हरेक जितमा ५० हजार र बराबरीमा १५ हजार बोनस रकम व्यवस्था गरिएको थियो ।



जसअनुसार लिगमा १२ जित निकालेको विजेता मनाङले ६ लाख बोनस पाएको छ । ९ जित र १ बराबरी खेलेको संकटाले ४ लाख ६५ हजार, ८ जित र २ बराबरी खेलेको थ्रीस्टारले ४ लाख ३० हजार, ७ जित र ४ बराबरी खेलेको त्रिभुवन आर्मीले ४ लाख १० हजार, ७ जित र २ बराबरी खेलेको एपीएफले ३ लाख ७० हजार र ५ जित, ४ बराबरी खेलेको नेपाल पुलिसले ३ लाख १० हजार रुपैयाँ बोनस पाएका छन् ।



त्यस्तै ५ जित र २ बराबरी खेलेको हिमालयन शेर्पाले २ लाख ८० हजार, ४ जित र ४ बराबरी खेलेको च्यासल युथले २ लाख ६० हजार, ४ जित र २ बराबरी खेलेको सरस्वती युथले २ लाख ३० हजार, ३ जित र ४ बराबरी खेलेको जावलाखेलले २ लाख १० हजार, ३ जित र ३ बराबरी खेलेको फ्रेन्ड्स क्लबले १ लाख ९५ हजार, २ जित र ४ बराबरी खेलेको ब्रिगेड ब्वाइजले १ लाख ६० हजार, समान १ जित र ४ बराबरी खेलेका अन्तिमका दुई टिम मछिन्द्र र एनआरटीले समान १ लाख १० हजार रुपैयाँ बोनस पाएका छन् । ए डिभिजन लिगका शीर्ष ६ स्थानसम्मका टोलीले नगद पुरस्कार पाए । मनाङले ५० लाख, संकटाले ३५ लाख, थ्रीस्टारले २५ लाख, आर्मीले १५ लाख, एपीएफले ७ लाख र नेपाल पुलिसले ५ लाख पुरस्कार पाए ।



व्यक्तिगत विधातर्फ मनाङका खेलाडीको वर्चस्व रह्यो । मनाङका गोलरक्षक विशाल श्रेष्ठ, मिडफिल्डर हेमन गुरुङ र प्रशिक्षक सुमन श्रेष्ठ आ–आफ्नो विधामा उत्कृष्ट ठहरिए । विशालले लिगको १३ खेलमा मात्र ७ गोल खाए । थ्रीस्टारका रन्जित धिमाल उत्कृष्ट डिफेन्डर र आर्मीका भरत खवास उत्कृष्ट स्ट्राइकर चुनिए । भरत, थ्रीस्टारका रन्जित र मनाङका ओलावाले अफिज लिगका सर्वाधिक गोलकर्ता हुन् ।



लिगमा ११ खेल खेलेका भरतले ७ गोल गर्दा २ गोल पेनाल्टीमा गरेका थिए । उनले चार गोललाई पास उपलब्ध पनि गराए । उत्कृष्ट पाँचै जनाले पल्सर मोटरसाइकलका साथै जनही ५० हजार रुपैयाँ पुरस्कार पाए । आर्मीकै विकास खवासले लिगको उत्कृष्ट युवा खेलाडीको रूपमा हालै स्थापना गरिएको स्व. मणि शाह स्मृति इमर्जिङ खेलाडी पुरस्कार पाए । त्यसवापत उनले १ लाख रुपैयाँ पाए ।



१४ टोलीसम्मिलित लिगका ९१ खेलमा २ सय २८ गोल भए । १ सय गोल पहिलो हाफमा भएका थिए । लिग अवधिभर २ सय ६४ पहेँलो र १० रातो कार्ड देखाइएको थियो । लिगमा ७१ खेलमा स्पष्ट नतिजा निस्किएको थियो भने २० खेल बराबरीमा सकिए । १२ औं स्थानमा रहेर लिग टुंग्याएको ब्रिगेड ब्वाइज क्लबले फेयर प्ले अवार्डअन्तर्गत १ लाख पुरस्कार पायो । फ्रेन्ड्सकी टिम फिजियो नविना श्रेष्ठले उत्कृष्ट सर्भिस अवार्ड पाइन् ।



स्रोत : कान्तिपुर



Other News

‘कुनै आश्चर्य छैन’
  January 21st, 2019
‘कुनै आश्चर्य छैन’
वुमन्स ट्वान्टी–२० स्म्यास क्रिकेट read more
आर्मीको रोमाञ्चक जित
  January 21st, 2019
थ्री–स्टार उपाधिनजिक
  January 17th, 2019
झापा ११ विजयी
  January 16th, 2019
झापा ११ विजयी
विशाल गोल्डकप read more
समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा
  January 16th, 2019
समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा
वुमन्स ट्वान्टी–२० स्म्यास क्रिकेट read more