भीमलाई सिस्ने–चाखुरे अल्ट्रा रेस

रुकुम पश्चिम — गोरखाका भीम गुरुङले सिस्ने–चाखुरे अल्ट्रा रेसको उपाधि जितेका छन् । उनले मुसिकोट नगरपालिका–१, सल्लेदेखि आठबीसकोट नगरपालिका–११, सिमबजारसम्मको ३२ किलोमिटर दौड दुई घण्टा ३१ मिनेट २८ सेकेन्डमा पूरा गरेका थिए ।

उनले ४० हजार रुपैयाँ पुरस्कार पाए । उनलाई पछ्याएका रुकुम पश्चिमका दुर्गाराज बुढा दोस्रो भए । उनले २ घण्टा ३२ मिनेट ५० सेकेन्डमा दूरी पार गर्दै २५ हजार पुरस्कार जिते । २ घण्टा ३७ मिनेट ३१ सेकेन्डमा दूरी पार गरेका रुकुम पश्चिमकै अर्जुन बस्नेत तेस्रो भए । उनले १५ हजार रुपैयाँ जिते ।

डाँफे मुनाल युवा क्लबले आयोजना गरेको दौडमा दूरी पार गरेका तेजकुमार बस्नेत, लालबहादुर कुसारी, अमर बस्नेत, खडक
बुढा र फूर्वा तामाङलाई जनही ५ हजारबाट पुरस्कृत गरियो ।

सिस्ने चाखुरे र आसपास क्षेत्रमा पर्यटकीय गतिविधि बढाउने र राष्ट्रको ध्यानाकर्षण गराउने उद्देश्यले दौड आयोजना गरिएको आयोजक क्लकका अध्यक्ष नरेश पुन मगरले बताए ।

रुकुम पश्चिमसहित रुकुम पूर्व, सल्यान, जाजरकोट, गोरखा, सिन्धुपाल्चोक, काठमाडौंलगायतजिल्लाका खेलाडी सहभागी थिए । प्रतियोगिता जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले उद्घाटन गरेका थिए । सरकारी क्षेत्रबाट हुन नसकेको खेलको आयोजना गरेकोमा क्लबलाई उनले धन्यवाद दिए ।

बुधबार महिलातर्फ १० किलोमिटर दौड
गराइने आयोजकले जनाएको छ । रिम्ना हुँदै आठबीसकोटको राडी जाने सडकअन्तर्गत बाँके ज्यूलादेखि चिसापानी हुँदै राडीसम्मको रुट तय गरिएको छ । महिला विजेताले १५, दोस्रोले १०, तेस्रोले ५ हजार र अरु ५ जनालाई २–२ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । जिल्लाका आठबीसकोट नगरपालिका, मुसिकोट नगरपालिका, बाँफिकोट गाउँपालिका र नेपाल पर्यटन बोर्डले प्रतियोगितामा सहयोग गरेका छन् ।

पछिल्लो समय म्याराथनतर्फ जिल्लाभित्रका खेलाडीको आकर्षण बढेकाले उनीहरूको हौसला बढाउन प्रतियोगिता गरिएको अध्यक्ष पुनले बताए । म्याराथनको नाम दुई हिमालको नामबाट राखिएको छ । सिस्ने हिमाल र चाखुरे हिमालको थप प्रचार गर्ने उद्देश्यले पनि सिस्ने–चाखुरे अल्ट्रा रेस आयोजना गरिएको आयोजकले बताएको छ ।

स्रोत:कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *