आठौं राष्ट्रिय खेलकुद : बिहे लगत्तै मैदानमा

वैशाख ४ गते विवाह थियो । दुलही बन्नुपर्ने मान्छे ३ गते राती मात्रै घर पुगिन् । घरपरिवारले दुलही मान्छे अन्तिम समयमा घर आउने भनेर गुनासो गरे । भोलिपल्ट बाँकेको कोहलपुरमा विवाह भयो । दुलही बनेर कोहलपुरस्थित माइती घरबाट मकवानपुरको हेटौंडा पुगिन् । बुहारीका रूपमा घरभित्र पस्ने औपचारिकता माक्रै निर्वाह गरेर त्रिकेट खेलाडी सीता रानामगर हतारहतार दाङको लमही फर्किन् ।

लमहीमा आठौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेट प्रतियोगिता भइरहेको थियो । सोमबारदेखि सेमिफाइनल खेल भएकाले उनी आइतबार रातिसम्म लमही पुग्नैपर्ने थियो । हतारहतार समयमै लमही पुगिन् र सोमबारको खेलमा प्रदेश २ लाई हराउँदै आफ्नो टिम एपीएफलाई कप्तानी गर्दै फाइनलमा प्रवेश गराइन् ।

उनको टिमले प्रदेश २ लाई ६७ रनले हरायो, जसमा सीताले २६ रन हानिन् र २ विकेट पनि लिँदै वुमन्स अफ द म्याच भइन् । मंगलबार उनले आफ्नो टिमलाई च्याम्पियन नै बनाइन् । उनको टिमले प्रदेश १ लाई ८७ रनले हराउँदै स्वर्ण पदक जित्यो । सीताले ४२ रन जोडिन् । उनी प्लेयर अफ द फाइनल भईन । 

खेल सकिनेबित्तिकै विवाहपछि माइती फर्किने संस्कार धान्न उनी कोहलपुरतिर लागिन् । पूर्व बक्सिङ खेलाडी पति दिलीपकुमार लामा मंगलबार उनलाई लिन घरबाट लमही आइपुगे अनि कोसेली स्वरूप खेल जितेको खुसियाली बोकेर बूढाबूढी कोहलपुर लागे । ‘विवाहको पूरा प्रक्रिया नै सिध्याउन पाइएन । विवाहसँगै खेल चलिरहेको छ,’ उनले भनिन्, ‘घर पुगेर फेरि माइती फर्कनुपर्ने चलन हुन्छ । त्यो पूरा हुन पाएको छैन । म बाटोमै छु । खेल सकेर बल्ल फर्कंदै छु ।’

उनी घरबाट लमहीसम्म त पुगिन् तर खेल नसकी माइती जान पाउने अवस्था नभएकाले बाटोमै रोकिनुपर्‍यो । माइती फर्कन उनलाई साइतभन्दा खेलको समय हेर्नुपर्ने भयो । ‘जतिबेला पनि खेलकै चटारो हुन्छ । विवाहको अघिल्लो रातसम्म पनि म राष्ट्रिय खेलको तयारीमा थिएँ,’ सीताले भनिन्, ‘राति पुगेर हतारहतारमा दुलही बनियो । नयाँ घरमा भित्रिएर फेरि तुरुन्तै खेलमा फर्किएँ ।’

विवाहपछि श्रीमान्–श्रीमती घुम्ने, रमाइलो गर्ने, घरपरिवारमा बुहारीका रूपमा कर्तव्य निर्वाह गर्नुपर्नेजस्ता सबै काम त्यागेर उनी खेलमा दौडिइन् । ‘आजसम्म खेलको पछि लागियो । अहिले खेल छोडेर व्यक्तिगत जीवनमा अल्झिन सकिंदैन,’ उनले भनिन्, ‘जहिले पनि खेल प्राथमिकतामा छ ।’

सानैदेखि क्रिकेट खेल्न थालेकी सीताले सन् २००७ देखि राष्ट्रिय टोलीमा छिन् । २०११ मा एपीएफ क्लबमा जोडिएकी सीताले दुई एसियाली खेलकुद र एसिया कप खेलिसकेकी छन् । खेल्दाखेल्दै १२ कक्षा पढेर छोडेकी सीता निरन्तर खेलमा छिन् । एपीएफ क्लबमा तीन वर्ष सँगै हुँदा पनि भेट नभएका बक्सिङ खेलाडी लामा २०७२ को भूकम्पको बेला एक्कासि रानासँग भेटिए । भूकम्पपछि काठमाडौंमा उद्धारमा खटिएका बेला लामा र सीताको भेट भएको थियो । २७ वर्षीया सीता र ३३ वर्षीय लामाले चार वर्षको प्रेमलाई नयाँ वर्षको सुरुआतसँगै मागी विवाहमा बदले ।

सीतालाई विवाहपछि घरायसी जीवनमा अल्झिनुपर्ने चिन्ता छैन । श्रीमान् खेलाडी, आमाजू अनुराधा लामा र उनका श्रीमान् पूर्ण लामा पनि बक्सिङकै खेलाडी । घरतिर खेलाडीहरू भएकाले उनी सबैले कुरा बुझ्नेमा ढुक्क छिन् । ‘सबै खेलाडी भएकाले मलाई सजिलो छ । सासू आमाले पनि पत्रिकामा छापिएको फोटो देखाउँदै हुनुहुन्थ्यो,’ उनले भनिन्, ‘म खेलाडी भएकोमा सबैलाई गर्व छ । माइतीतिर पनि सबैले सहयोग गर्छन् । मेरो खेल जीवनमा विवाहले केही असर गर्दैन ।’

अब दुई वर्ष अन्तर्राष्ट्रिय खेल खेलेर थाइल्यान्डलाई हराउने उनको धोको छ । ‘सन् २०१२ देखि थाइल्यान्डले हामीलाई लगातार हराइरहेको छ । अरू देशलाई त हामीले जित्यौं तर अब थाइल्यान्डलाई जसरी पनि जित्नु छ,’ उनले भने, ‘त्यसपछि खेलबाट संन्यास लिने विचार छ ।’ नेपालमा केटीका खेलहरू कमै हुने गरेका छन् । पछिल्लो समय महिला खेलहरू बढदै गएकोमा उनी खुसी छिन् । ‘अहिले महिला खेल र खेलाडीहरू बढदै गएका छन् । यसले हामीलाई खुसी बनाएको छ,’ उनले भनिन्, ‘आठौं राष्ट्रिय खेलकुदमा पनि महिला खेलहरू धेरै भएका छन् ।’

स्रोत : कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *