प्रधानसेनापति खुला म्याराथन : कृष्ण लगातार च्याम्पियन

त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतले शनिबार चौथो प्रधानसेनापति खुला म्याराथन प्रतियोगिताको उपाधि रक्षा गरेका छन् । लगातार दोस्रो उपाधिसँगै उनले व्यक्तिगत टाइमिङमा पनि उल्लेख्य सुधार गरी आर्मी रेकर्ड कायम गरेका छन् । 

लगातार दोस्रोपल्ट प्रधानसेनापति म्याराथन उपाधि जितेका कृष्ण बस्नेत । महिला हाफ म्याराथन विजेता विश्वरुपा बुढा (दायाँ) । दुवै आर्मीका खेलाडी हुन् । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

सैनिक मुख्यालय भद्रकालीबाट सुरु ४२.१९५ किलोमिटर दूरीको म्याराथनमा आर्मीका धावकको वर्चस्व रहँदा कृष्णले २ घण्टा २० मिनेट ५१ सेकेन्डको टाइमिङ निकाले । कृष्णले व्यक्तिगत टाइमिङ सुधारका साथै पूर्ण तामाङको नाममा रहेको विभागीय टाइमिङ पनि आफ्नो नाममा लेखाए ।

Citizen

पूर्णले काठमाडौं म्याराथनमा २ घण्टा २२ मिनेट १९ सेकेन्डको उत्कृष्ट टाइमिङ निकालेका थिए ।सेना दिवसको पूर्वसन्ध्यामा आयोजित प्रतियोगितामा आर्मीका राजन खत्री २ घण्टा २४ मिनेटसाथ दोस्रो र नवराज साउद २ घण्टा २९ मिनेट ५७ सेकेन्डसाथ तेस्रो भए ।

विजेता कृष्णले १ लाख २५ हजार रुपैयाँ र एक थान पल्सर मोटरसाइकल पुरस्कार पाए । उपविजेता राजनले ६५ हजार रुपैयाँ र तेस्रो भएका नवराजले ३५ हजार पुरस्कार पाए । चौथोदेखि सातौं स्थानसम्मकाले क्रमशः २५, १५, १० र ५ हजार रुपैयाँ पुरस्कार पाए ।

यसअघि पहिलो संस्करणमा नेपाल पुलिसका भूमिराज राई र दोस्रोसंस्करणमा एपीएफका गोपीचन्द्र पार्की विजेता बनेका थिए ।उपाधि जितेपछि कृष्णले करिअरकै उत्कृष्ट टाइमिङ निस्किएकोमा सन्तुष्टि व्यक्त गरे । ‘तयारी उपाधि जित्नकै लागि गरिरहेको थिएँ, गुरु (पुष्पराज ओझा) ले राम्रो तयारी गराउनुभएको थियो,’ एक मिनेटको व्यक्तिगत प्रदर्शनसुधारेका कृष्णले भने, ‘३५ किलोमिटरसम्म गोपीले चुनौती दिएका थिए, त्यसपछि मैले अग्रता लिएँ, सजिलै भयो । रुट पनि राम्रो थियो ।’

महिला हाफ म्याराथनतर्फ आर्मीकी विश्वरुपा बुढा च्याम्पियन बनिन् । उनले निर्धारित दूरी १ घण्टा १७ मिनेट २० सेकेन्डमा पूरा गरिन् । एपीएफकी बिन्द्रा देशारले १ घण्टा २६ मिनेट १२ सेकेन्ड र आर्मीकी चन्द्रा रावतले १ घण्टा २६ मिनेट ३२ सेकेन्डबाट क्रमशः दोस्रो र तेस्रो स्थान कब्जा गरे ।

पुरुष ४५ वर्षमुनिको हाफ म्याराथनमा शीर्ष तीन स्थानमा आर्मीकै धावकले बाजी मारे । कल्याण बानियाँले उपाधि जित्दा गजेन्द्र राई दोस्रो र टीका कटुवाल तेस्रो भए । महिला र पुरुष दुवै विधाका शीर्ष तीन स्थानमा आउनेले क्रमशः ५०, ३५ र २५ हजार रुपैयाँ पुरस्कार पाए । काठमाडौं पिंकाथनकी विजेता कान्छीमाया कोजु भने यस प्रतियोगितामा सहभागी थिइनन् ।

हाफ म्याराथन पुरुष ४५ वर्षमाथि उमेर समूहमा भने धर्म महर्जन पहिलो भए । भीम गुरुङ दोस्रो र भीमसेन अवाले तेस्रो भए । उनीहरूले क्रमशः ४०, २५ र १५ हजार रुपैयाँ पुरस्कार पाए ।

१० किलोमिटर दौडमा पुरुषतर्फ विशादचन्द्र वाजी, मधु थापा र नवराज थापा शीर्ष तीन स्थानमा आए । महिलातर्फ रजनी अधिकारी पहिलो, सन्जिता केसी दोस्रो र पवित्रा अधिकारी तेस्रो भए । विदेशी सैनिक सहचरी र कूटनीतिज्ञलाई समेटेर गरिएको १० किलोमिटर दौडमा भारतीय दूतावासका शशांक शेखर पहिलो, बेलायती दूतावासका रिचर्ड मोरे दोस्रो र भारतीय दूतावासकै दुराई मुरुगान तेस्रो भए ।

५ किलोमिटर दौडमा छात्रतर्फ ईश्वरचन्द्र बस्नेत पहिलो, भूपराज पूरी दोस्रो र विकास तामाङ तेस्रो भए । छात्रातर्फ काजल विष्ट, कुशलता तामाङ र स्वेच्छा बलामी मगर क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।

५ किलोमिटर, १० मिलोमिटर, हाफ म्याराथन र म्याराथन गरी मुख्य चार बिधामा आयोजित प्रतियोगितामा ४ हजार २ सय ५९ जना सहभागी भएको नेपाली सेनाले जानकारी दिएको छ ।

स्रोत : कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *