सुवास च्याम्पियन

 एमेच्योर सुवास तामाङले तीन अन्डर ६५ खेल्दै रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा शुक्रबार सम्पन्न सूर्य नेपाल च्यालेन्जको उपाधि जितेका छन् । उनले ७२ होलको प्रतियोगितामा प्रो भुवन नगरकोटीलाई एक स्ट्रोकले पछाडि पार्दै उपाधि जितेका हुन् ।

एमेच्योर गल्फर सुवास तामाङले सूर्य नेपाल च्यालेन्ज जितेका छन् । सूर्य नेपाल गल्फ टुरमा उपाधि जित्ने उनी कान्छा गल्फर बनेका छन् । तस्बिर : केशव थापा/कान्तिपुर

प्रतियोगितामा सुवासले कुल स्कोर ५ अन्डर २ सय ६७ गरे । एमेच्योरलाई नगद पुरस्कार नदिइने गल्फको प्रचलन भएकाले सुवासले ट्रफीमै चित्त बुझाए । एमेच्योर छँदै व्यावसायिक गल्फको उपाधि जित्ने उनी चौथो खेलाडी हुन् ।

Citizen

यसअघि शिवराम श्रेष्ठ (वेस्टर्न ओपन २००५), रुपक आचार्य (सेन्ट्रल ओपन २०१०), शुक्र बहादुर राई (इस्टर्न ओपन २०१८) ले एमेच्योर छँदै मुख्य उपाधि जितेका थिए । १६ वर्षीय सुवास सन् २००८ मा सुरु भएको सूर्य नेपाल गल्फ टुरमा उपाधि जित्ने सबैभन्दा कान्छो गल्फर पनि हुन् ।

अन्तिम दिन एक अन्डर ६७ स्कोर गरेका भुवनले कुल चार अन्डर २ सय ६८ को कार्ड बनाए । कुल चार लाख ४१ हजार रुपैयाँ पुरस्कारको प्रतियोगितामा गत वर्षको विजेता भुवनले ८४ हजार हात पारे । दिनेश प्रजापति एक अन्डर २ सय ७१ स्कोरसहित दोस्रोमा रहे । व्यावसायिक गल्फरतर्फ दोस्रोमा रहेका उनले ५३ हजार प्राप्त गरे ।

प्रोतर्फ रामे मगर इभन पार २ सय ७२ सहित तेस्रो भए । विकास अधिकारी (१ ओभर २ सय ७३), भुवनकुमार रोका (२ ओभर २ सय ७४) शीर्ष पाँचमा रहे ।

स्रोत : कान्तिपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *