नेपालको सान्त्वना जित

काठमाडौँ — नेपाली महिला टिमले इन्डोनेसयामाथि २-१ को जित निकाल्दै मंगलबार २०२० ओलम्पिक छनोटको यात्रा टुंग्याएको छ । यसअघि म्यान्मार र भारतविरुद्ध हारेकाले नेपाली टिमको चुनौती छनोटको दोस्रो चरणमा समाप्त भयो ।

सुरुका दुवै खेलमा पराजित भएकाले नेपाल र इन्डोनेसियाको लागि दोस्रो चरणको अन्तिम खेल प्रतिष्ठाको विषयमै सीमित थियो। प्रशिक्षक हरि खडाले पहिलो रोजाईका तीन खेलाडी परिवर्तन गर्दै नेपाली टिमलार्य मैदानमा उतारेका थिए। म्यान्मारको मान्डलायस्थित बाहतो रंगशालामा भएको खेलमा सावित्रा भण्डारीको दुई गेल सहयोगमा नेपालले सान्त्वना जित हासिल गरेको हो।

इन्डोनेसियाकी गोलकिपर रिस्का जुलियान्तीले आठौं मिनेटमै रातो कार्ड बेहोर्दै मैदान छाडेकी थिइन्। तैपनि नेपाली टिम गोलका लागि संघर्षरत् रह्यो। सावित्राले ३६ औं मिनेटमा गोल गरेपछि नेपालले पहिलो हाफमा १-० को अग्रता लिएको थियो। बाइक अमिन्तुनले ४७ औं मिनेटमा गोल गर्दै इन्डोनेसियालाई १-१ को अवस्थामा पुर्‍याइन्।

खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला सावित्राले ८९ औं मिनेटमा बललाई पोष्टको दिशा दिदै नेपाललाई छनोटको दोस्रो चरणमा सान्त्वना जित दिलाइन्। यो उनको अन्त्र्राष्ट्रिय प्रतियोगितामा २८ औं गोल हो। उनले सर्बाधिक गोलकर्ता अनु लामा -३५ गोल) को कीर्तिमान पछ्याइरहेकी छन्।
नेपालले पहिलो खेलमा म्यान्मार र दोस्रोमा भारतसँग मसान ३-१ को हार बेहोरेको थियो। दुवै खेलमा नेपालको तर्फबाट कप्तान निरु थापाले गोल गरेकी थिइन्। सर्बाधक ४१ क्याप जितेकी निरुले अन्तर्राष्ट्रिय प्रतियोगितामा ११ गोल गरेकी छन्। दोस्रो चरणमा दुई हार र एक जितसँगै नेपाल ३ अंकसहित समूहको तेस्रो स्थानमा रह्यो।

वीन थेन्गी तुनको ह्यट्रिकको सहयोगमा आयोजक म्यान्मारले मंगलबार भारतसँग ३-३ को नतिजा निकाल्दै समान अंक भएपनि गोल अन्तरको आधारमा शीर्षस्थानमा रहदै ओलम्पिक छनोटको तेस्रो चरणको यात्रा पक्का गर्‍यो। तेस्रो चरणको छनोटमा एसियाली महिला फुटबलका उत्कृष्ट आठ टिमले प्रतिस्पर्धा गर्नेछन्।

स्रोत:कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *