प्रिन्सको सनसनी

काठमाडौँ — सिल्क ग्रुपका प्रिन्स दाहालले १५ औं कृष्णमोहन स्मृति राष्ट्रव्यापी खुला ब्याडमिन्टनमा विजय यात्रा कायम राख्दै क्वाटरफाइनल पुगेका छन् । उनले पुरुष एकल, पुरुष युगल र यू–१७ ब्वाइजमा जित निकाल्दै तीनै विधामा क्वाटरफाइनल तय गरे ।

पुरुष एकलमा दुबई अन्तर्राष्ट्रिय जुनियरका स्वर्णधारी प्रिन्सले आर्मीका दिवस शंकरलाई २१–११, २१–७ ले पराजित गरेका थिए । हलचोकस्थित एपीएफको कभर्डहलमा यू–१७ तर्फ प्रिन्सले धन्वन्तरीका सुदन तामाङलाई २१–६, २१–५ ले पन्छाए । पुरुष युगलमा उनले एपीएफका नीरविक्रम देवकोटासँग मिलेर एपीएफका निरन्जन देवकोटा र पुलिसका पूर्णबहादुर थापालाई २१–१४, १७–२१, २१–१८ ले हराएका थिए ।

पुरुष एकलतर्फ दीपेश धामीले एपीएफकै पेम्बा शेर्पालाई २२–२०, २१–११ ले हराए । एपीएफका गौतमसिंह कठायत, सुदीप सेढाईं, सुनील जोशी र साजनकृष्ण ताम्राकार अन्तिम आठमा पुगेका छन् । आर्मीका प्रफुल महर्जनले एपीएफका विजित थापामगर र पुलिसका जीवन आचार्यले सेनाका रुकेश महर्जनलाई हराएर क्वाटरफाइनल तय गरे ।

महिला एकलतर्फ मोरङकी सीमा राजवंशी, एपीएफका शोभा गौचन, जेशिका गुरुङ क्वाटरफाइनल पुगेका छन् । सीमाले भोजपुरकी सीता राईलाई २१–९, १७–२१, २१–१८ ले, शोभाले बाँकेकी सम्झना शर्मालाई २१–१८, २१–२३, २१–१३, जेशिकाले जेस्टकी मनीषा खड्कालाई २१–११, २१–७ ले हराए । आर्मीकी अमिता गिरी सिधै क्वाटरफाइनल पुगेकी छन् ।

आर्मीकी रञ्जना भट्ट, रशिला महर्जन र अनुमाया राईले पनि अन्तिम आठमा स्थान बनाए । एपीएफकी सुनैना मुखिया पनि भोजपुरकी लोक्तमा राईलाई २१–४, २१–९ ले हराएर अघि बढिन् ।

यू–१७ तर्फ महेन्द्रनगरका प्रकाश चन्द, एपीएफका प्रियान्सु सिंह क्षेत्रीे, धनगढीका अमृत चौधरी, मोरङका उज्ज्वल पोखरेल, एपीएफका पेम्बा शेर्पा, कञ्चनपुरका गोकुल जोरा र आर्मीका दिवस शंकर विजयी भए । सोही उमेर समूहको गर्ल्सतर्फ मोरङकी नीता लम्साल, झापाकी अन्जना राई र वीरगन्जकी स्मृति राई पनि अन्तिम आठमा पुगेका छन् ।

मिश्रित युगलमा नीरविक्रम देवकोटा र सीता राई तथा महिला युगलमा शोभा गौचन र सुनैना मुखियाको जोडी अगाडि बढेका छन् ।

स्रोत:कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *