प्रिन्स र रसिला च्याम्पियन

काठमाडौँ — सिल्क ग्रुपका प्रिन्स दाहाल र आर्मीकी रसिला महर्जन बिहीबार १५ औं राष्ट्रव्यापी कृष्ण मोहन स्मृती खुला ब्याडमिन्टनको यू–१७ तर्फ च्याम्पियन भएका छन्  । हल्चोकस्थित एपीएफको कभर्डहलमा प्रिन्सले ब्वाइजतर्फ फाइनलमा आयोजक क्लब एपीएफका पेम्बा शेर्पालाई २१–४, २१–८ ले सजिलै हराए  ।

रसिलाले गर्ल्स फाइनलमा मोरङकी सीमा राजवंशीलाई २१–१४, २१–१५ ले हराइन् । एपीएफका प्रियांशुसिंह क्षेत्री र दिवस शंकर तथा गर्ल्समा मोरङकी नीता लम्साल र आर्मीकी रञ्जना भट्ट संयुक्त तेस्रो भए ।

मिश्रित युगलतर्फ एपीएफका दीपेश धामी र पूजा श्रेष्ठ च्याम्पियन भए । गत वर्षका पनि च्याम्पियन उनीहरूले आफ्नै क्लबका विजित थापामगर र शोभा गौचनको जोडीलाई २१–१०, २१–१२ को सोझो सेटमा हराए । सेमिफाइनलमा दीपेश र पूजाले एपीएफकै गौतमसिंह कठायत र सुनैना मुखियालाई २१–१२, २१–१६ ले पराजित हराए भने विजित र शोभाले आर्मीका सुरोज महर्जन र अमिता गिरीलाई २२–२०, २१–१७ ले हराए ।

५५ वर्षमाथि ग्यालेक्सी ब्याडमिन्टन क्लबका पुष्पराज ताम्राकार र राजु भुजुको जोडी विजयी भए । उनीहरूले एपिएफका भरतकुमार श्रेष्ठ र सुरेश बमलाई २१–१९, २१–७ ले हराए । धादिङका रमेश भट्टचन र विष्णुलाल श्रेष्ठ तथा एपीएफका चूडामणि उपाध्याय र जंगबहादुर चन्दको जोडी तेस्रो भए । ४५ वर्ष माथि जेस्ट ब्याडमिन्टनका श्याम पराजुली र नवीनबाबु श्रेष्ठको जोडीले बाजी मारे । उनीहरूको जोडीले जेस्टकै मुन्ना केसी र प्रेम घलेको जोडीलाई २१–१३, २१–१४ ले हरायो । तेस्रो स्थानमा मण्डलाका हरि खत्री र लोकेश्वर बखती तथा धनकुटाका योगेश्वर श्रेष्ठ र किरण प्रधान रहे ।

एपीएफका प्रेमकुमार श्रेष्ठ र चेतसिंह थापाको जोडीले ३५ वर्ष माथि उपाधि उचाल्यो । उनीहरूले आफ्नै क्लबका राजु गौतम र लोकबहादुर थापालाई २१–८, २१–१२ ले हराए । एपीएफका कुश बुढाथोकी र धीरेन्द्र चन्द तथा जिवेश पाण्डे र गणेशबहादुर मल्ल संयुक्त तेस्रो भए ।

दीपेश र प्रिन्स भिड्ने
पुरुष एकलतर्फ एपीएफका दीपेश धामी र सिल्क ग्रुपका प्रिन्स दाहालबीच उपाधि भिडन्त पक्का भएको छ । दीपेशले आर्मीका प्रफुल महर्जनलाई २१–१२, २१–१५ ले र प्रिन्सले पुलिसका जीवन आचार्यलाई २१–१९, २१–११ ले हराए ।महिला एकलतर्फ एपीएफकी जेशिका गुरुङ र आर्मीका रसिला महर्जन फाइनल भिड्ने छन् । जेशिकाले आर्मीकी अमिता गिरीलाई २१–१३, २१–११ ले र रसिलाले आफ्नै क्लबकी अनुमाया राईलाई २१–१५, २१–१२ ले हराए । पुरुष युगलतर्फ एपीएफका दीपेश धामी र विजित थापा मगरले आर्मीका प्रफुल महर्जन र सुरोज महर्जनको जोडीसँगको भेट पक्का गरेका छन्।

एपीएफविरुद्ध न्यु डायमन्ड
सशस्त्र प्रहरी महानिरीक्षक छैटौं राष्ट्रिय खुला महिला भलिबलको उपाधि लागि आयोजक नेपाल एपीएफ क्लबले चिरप्रतिद्वन्द्वी न्यु डायमन्ड क्लबसँग प्रतिस्पर्धा गर्ने भएको छ । बिहीबार सेमिफाइनलमा एपीएफले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई २५–२३, २५–१७, १८–२५, २५–१२ ले र न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबलाई २५–२३, २३–२५, २५–२१, २५–२० ले हराएका थिए ।

टेनिस
एघारौं सहवीर स्मृति खुला लनटेनिसको ४५ वर्षमाथि भेट्रान्स पुरुष एकलतर्फ चन्द्र शाहीले विमल गुरुङलाई ५–७, ७–६, १०–८ ले पराजित गरी उपाधि जिते । इन्टर गभर्मेन्टल सर्भिस इभेन्टको फाइनलमा सिजर गुरुङले चन्द्र थापालाई १–६, ६–३, १०–६ ले हराए । पुरुष एकलतर्फ निक रास्त्रुपले जितेन्द्र परियारलाई ६–२, ६–१ ले र इभानोई लिसानोविचले प्रनव खनाललाई ६(१, ६(२ ले पराजित गर्दै फाइनल पक्का गरेका छन् ।

स्रोत:कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *