आठौं राष्ट्रिय खेलकुद : ट्रायथलन पनि पोखरामा

लेखनाथ — पूर्वाधार अभावकै कारण आठौं राष्ट्रिय खेलकुदअन्तर्गत प्याराग्लाइडिङसँगै ट्रायथलन प्रतियोगिता पनि पोखरामा हुने भएको छ । प्रदेश ५ को नेपालगन्जमा ट्रायथलनका लागि आवश्यक पूर्वाधार नहुँदा दुई खेल गण्डकीले आयोजना गर्ने अवसर पाएको हो ।प्याराग्लाइडिङ र ट्रायथलनले गण्डकी प्रदेशलाई पनि आठौं राष्ट्रिय खेलकुदको आयोजकमा उभ्याएको छ । नेपाल ट्रायथलन संघका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठका अनुसार प्रतियोगिता चैत ३० मा हुनेछ ।

प्रदेश ५ को परेवा तालमा ट्रायथलन गर्ने संघको योजना थियो । उक्त स्थल धार्मिकलगायत अन्य विविध कारणले उपयुक्त नभएकाले पोखरा सारिएको उनले बताए । ‘नेपालगन्जमा हुन नसकेपछि काठमाडौंमा गर्ने भनिएको थियो,’ उनले भने, ‘पूर्वाधार हेर्दा पोखरा नै उत्कृष्ट स्थल रहेकाले चयन गर्‍यौं । ट्रायथलनका लागि १५ सय मिटरको पौडी पोखरी आवश्यक हुन्छ, जुन फेवातालमा सम्भव छ ।

प्रतियोगिता गर्न चार प्रदेशका खेलाडी दर्ता हुनुपर्छ । यद्यपि समयमा नै खेलाडीले आफ्नो प्रदेशबाट दर्ता नगरेका कारण खुला प्रतिस्पर्धा गराउने आयोजकको तयारी छ । ट्रायथलनमा सोझै खेल्ने अवसर भएकाले पनि खेलाडीको संख्या बढ्नसक्ने जनाइएको छ । हालसम्म नेपाली सेनाबाट १२, एपीएफ क्लबबाट १४, प्रदेश ३ बाट ७, गण्डकी प्रदेशबाट ५, प्रदेश ५ बाट ६, प्रदेश ६ बाट १, जाजरकोटबाट १ र रुकुम बाट २ खेलाडीको सहभागिता निश्चित भइसकेको छ । जसमध्ये १७ महिला खेलाडी छन् ।

एसिया कप पनि पोखरामै

हरेक वर्ष पोखरामा हुँदै आएको एसियन ट्रायथलन च्याम्पियनसिपलाई अन्तर्राष्ट्रिय ट्रायथलन महासंघले मान्यता प्रदान गरेको छ । अब उक्त प्रतियोगिता पनि एसिया कपका रूपमा सञ्चालन हुनेछ । २०७६ वैशाख १४ मा दक्षिण एसियामा नै पहिलोपल्ट ट्रायथलनको एसिया कप पोखरामा आयोजना हुनेछ ।

पोखरामा एसिया कपसहित साउथ एसियन ट्रायथलन च्याम्पियनसिप पनि सँगै हुनेछ । साउथ एसियन ट्रायथलन च्याम्पियनसिप हुन लागेको यो सातौंपल्ट हो । एसिया कपका लागि एसियाबाट मात्रै नभई विश्वभरका ट्रायथलन खेलाडी पोखरा आउने अध्यक्ष श्रेष्ठले बताए । चैत ३० मा हुने राष्ट्रिय खेलकुदबाट समेत उक्त प्रतियोगिताका लागि नेपाली खेलाडीको छनोट गरिनेछ ।

प्रतियोगितामा ट्रायथलन, दुवाथलन र मिक्स टिम रिले गरी तीन इभेन्ट हुनेछ । ट्रायथलनअन्तर्गत स्प्रिन्टमा २० किलोमिटर साइक्लिङ, ७५० मिटर पौडी र ५ किलोमिटरको दौड हुनेछ ।
दुवाथलन स्प्रिन्टमा ५ किलोमिटर दौड, २० किलोमिटर साइक्लिङ र २.५ किलोमिटरको दौड हुनेछ । मिक्स डबल्समा २–२ महिला र २–२ पुरुषको टिमले प्रतिस्पर्धा गर्नेछ । आयोजकले प्रतियोगिताका लागि गौरीघाटदेखि मुस्ताङचोकसम्मको स्थललाई तोकेको छ ।

स्रोत:कान्तिपुर दैनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *